कोरोना संक्रमणबाट नेकपाका नेता चौधरीको मृत्यु

Manpur
लोकपाटी न्यूज

सप्तरी। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एवं नेता संविधान सभा सदस्य मानपुर चौधरीको मंगलबार निधन भएको छ। सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुर निवासी कोरोना संक्रमित ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो।

दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ रिपोर्ट आएको थियो। उनमा ज्वारोसँगै सास लिन कठिनाइ भएपछि असोजको तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। त्यहाँ पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थिएन।

बिराटनगरमा उपचारपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन दिएर राखिएको थियो। उनको स्वास्थ्यमा समस्या वढेपछि कात्तिक २ गते राति नै धरान रेफर गरिएको थियो। सोही दिन उनको स्वाब संकलन गरेर परीक्षण गर्दा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो।

पोजेटिभ आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उनको मृत्यु भएको कंचनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्रले जानकारी दिए। कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक डम्बर गुप्ताका अनुसार चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए। चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्