चौरसियाको हत्यामा राज्य संवेदनहीन भयोः प्रभु साह

prabhu-shah
लोकपाटी न्यूज

रौतहट। नेपाल कम्युनिस्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले पार्टीको आन्तरिक विवादको कारण नेताले ज्यान गुमाउनुपर्ने स्थिति आउनु दुःखद भएको बताएका छन्। रौतहटको गुजरा नगरपालिका अन्तरगत जंगलसैयामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा साहले पार्टी प्रदेश कमिटीले विवादित कार्यक्रम नगर्न निर्देश दिए पनि जबरजस्ती कार्यक्रम गरेकोमा दुःख व्यक्त गरे।

गत बिहीबार नेकपाको विन्दवासिनी गाउँपालिका अध्यक्षको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले बिथोल्न खोज्दा भएको झडपमा परी गम्भीर घाइते भएका पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको शुक्रवार उपचारको क्रममा मृत्यु भएका थियो। उक्त घटनामा आक्रमण गर्नेहरूमाथि प्रहरीले किटानी जाहेरी दर्ता मानेको छैन। प्रदेश २ का अध्यक्ष साहले चौरसियाको हत्या भएको यति दिन भइसक्दा पनि प्रहरी प्रशासनले जाहेरी दर्ता नगर्नु त्यसभन्दा दुःखद बताए।

उनले कुनै पनि हालतमा चौरसियाका हत्यारा बच्न नसक्ने र कोही निर्दोषलाई फस्न नदिने बताए। प्रदेश कमिटीले कुनै पनि विवादित कार्यक्रम नगर्न भने पनि त्यसको ठिक विपरीत कार्यक्रम हुनु र त्यसमा पनि नेताले ज्याउन गुमाउनुपर्ने स्थिति दुःखद रहेको उनको भनाइ छ। ‘जघन्य अपराधको विषयमा राज्य संवेदनहीन भएर प्रस्तुत हुन मिल्दैन,’ साहले भने, ‘स्पष्ट पार्न चाहन्छु कि अब मुकेशको हत्याको जाहेरी दर्ता हुन्छ। उनको हत्यारा पानीमुनि गएर लुके पनि कसैले बचाउन सक्दैन। र, कोही पनि निर्दोषलाई फसाउने मनसाय पनि पूरा हुन दिन्नौं। हामी सोही अनुसार छलफलमा छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्