चौरसियाको हत्यारालाई प्रधानमन्त्रीले जोगाएः मातृका यादव

nekpa-neta jhadap
लोकपाटी न्यूज

काठमाडौं। पर्सामा नेपाल कमयुनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच भएको झडपका क्रममा ६ दिनअघि मृत्यु भएका मुकेश चौरसियाको अझै पोष्टमार्टम हुन सकेको छैन। गत बिहीबार नेकपाको बिन्दावासिनी गाउँपालिका अध्यक्षको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले विथोल्न खोज्दा भएको झडपमा परी गम्भीर घाइते भई शुक्रबार उपचारको क्रममा मृत्यु भएका चौरसियाको शव वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ।

आक्रमण गर्नेहरुमाथि प्रहरीले किटानी जाहेरी दर्ता नगरेको भन्दै परिवारजन तथा नेकपाका नेता कार्यकर्ताहरुले शव पोष्टमार्टम गर्न दिन मानेका छैनन्।
मृतक परिवारले आक्रमण गर्ने १२ जनामाथि किटानी जाहेरी दिएका छन्। तर प्रहरीले आक्रमणमा संलग्नहरुमाथि जाहेरी दर्ता गर्न इन्कार गरेको पर्साको नेकपाका इन्जार्ज रामचन्द्र साहले बताए। बाह्रै जनाविरुद्ध जाहेरी दर्ता नहुन्जेल शव पोस्टमार्टम हुन नदिने उनको भनाई छ।

घटनापछि नेकपाका स्थायी कमिटी सदस्य मातृका प्रसाद यादव, सुरेन्द्र पाण्डे लगायतका नेताहरु समेत प्रहरीविरुद्ध दबाबका कार्यक्रममा सहभागी हुँदै आएका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रेस विज्ञप्ति जारी गरी दोषीउपर कारबाहीको माग गरेका छन्। तर, प्रहरीमा जाहेरी दर्ता हुन सकेन। नेकपा नेता एवं पूर्वमन्त्री मातृका यादवले प्रधानमन्त्री केपी शर्मा ओलीकै आदेशमा दोषी बचाउने षड्यन्त्र भइरहेको आरोप लगाउँछन्।

‘दिनदहाडै पार्टी कार्यकर्ताहरुको भिडमा एकजना नेताको हत्या हुन्छ। घटनामा संलग्‍न दोषीहरुको नामै किटेर पीडित परिवारले जाहेरी दिन्छ। त्यो जाहेरी दर्ता गर्नसम्म प्रहरीले आलटाल गर्छ। यो कुनै पनि हालतमा सामान्य घटना होइन,’ नेता यादवले भने, ‘जाहेरी दर्ता गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्री आफैंले प्रहरीलाई निर्देशन दिइसके पनि घटनाको जाहेरी दर्ता नहुनुको पछाडि गृहमन्त्रीभन्दा माथिको शक्तिले खेलिरहेको प्रस्ट छ।’

घटनापछि प्रहरीले समेत प्रारम्भिक अनुसन्धानको क्रममा चौरसियाको हत्या पुष्टि गरिसकेको छ। अझ जाहेरी दर्ता गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको साटो प्रहरीले घटना सेलाउने दाउ देखाइरहे प्रदेश स्तरीय आन्दोलनको तयारीमा जुट्ने यादवले चेतावनी दिए। देशका प्रधानमन्त्रीले नै हत्यारालाई संरक्षण गर्न थालेपछि आफूहरुसँग आन्दोलनको विकल्प नरहेको उनले जिकिर गरे। यादवले भने, ‘गृहमन्त्रीभन्दा ठूलो शक्ति प्रधानमन्त्रीबाहेक अरु को हुनसक्छ ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्