जातीय विभेद्को विरोध गर्दै शैक्षिक अभियान्ताद्वारा दलित परिवारमा टीका ग्रहण

1
लाेकपाटी न्यूज

विराटनगर, ११ कार्तिक। विपन्न बालबालिकालाई शिक्षाको पहुँच पुर्याउनुपर्ने र जातीय विभेद् अन्त्य हुनुपर्ने सन्देश दिने उद्देश्यसहित वृहत् राष्ट्रिय शिक्षा अभियान नेतृत्वले ऋषिदेव (मुसहर) परिवारसँग टीका लगाएर विजया दशमी मनाएका छन् । अभियानका संयोजक अभिषेक घिमिरे र सहसंयोजक श्रीमन्त भट्टराईले विराटनगर १९ मा अवस्थित मुसहर बस्तिमा पुगेर दशमीको टीका लगाएका हुन् ।

परिवर्तन र रुपान्तरणको परिकल्पना गर्दै समाजले अछुत भनेको दलित समुदाय भित्रको पनि सिमान्तकृत मुसहर समुदायमा पुगेर टीका लगाएको अभियानका सह–संयोजक भट्टराईले बताए । कोरोना संक्रमण बढिरहेको सन्दर्भमा आधारभूत स्वास्थ्य मापदण्डहरु पालना गर्दै ६८ वर्षीय कालिचरण ऋषिदेव र ५९ वर्षीय शिवनारायण ऋषिदेवको हातबाट टीका जमरा ग्रहण गरेको उनले जानकारी दिए ।

‘तल्लो जातको परिभाषा दिँदै पानी नचल्ने, छोएको नखाने भनिएको दलित समुदायको हातबाट टीका ग्रहण गरेर हामीले मानव मानवबीचको विभेद्, अन्याय र अत्याचार अन्त्य हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजेका छौं।’ सह-संयोजक भट्टराईले भने, ‘यो एउटा सांकेतिक विरोध हो।’

टीका जमरा ग्रहण गरेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै भट्टराईले जातीय विभेद् विरुद्धको आन्दोलन स्वरुप आफूहरुले दलित परिवारको घरमा पुगेर दसैँको टीका लगाएको उल्लेख गरेका छन् । ‘जातीय विभेद् हटाउन अन्तरजातीय अन्तरघूलनको वातावरण बनाउनुपर्छ भन्ने हाम्रो बुझाईलाई व्यवहारिक प्रयोग गर्न खोज्यौं। यो शैली धेरैलाई नपच्न सक्छ। तर, समृद्ध नेपालको परिकल्पना गर्ने हो भने समाजबाट जात जातको नाममा गरिने विभेद् अन्त्य हुनुपर्छ। अनि शिक्षामा सबैको समान पहुँच हुनुपर्छ ।’ भट्टराई भन्छन्, ‘मानिसले मानिसलाई छुन नहुने, छोएको खान नुहने, शरीर चल्दा बैबाहिक सम्बन्ध नचल्ने, धार्मिक कार्यमा उपस्थित गराउन नमिल्ने लगायतका विषयहरु कानून विपरित हुन् । आजको समयमा कसैले त्यस्तो कुसंस्कार पछ्याउँछ भने त्यो मुर्ख हो जस्तो लाग्छ ।’

2

‘समाजलाई सुसंस्कृत बनाउन संस्कृतिको अनिवार्य भूमिका हुन्छ । तर, गलत संस्कार र गलत परम्पराहरु शिक्षित व्यक्तिले तोड्न सक्नुपर्छ।’ अभियानका संयोजक अभिषेक घिमिरे भन्छन्, ‘हामी परिवर्तनका लागि निरन्तर आवाजहरु उठाउने मात्र होइन व्यवहारिक प्रयोग गरेर समाजलाई मार्गनिर्देशन गर्ने र उदाहरण दिने काम गर्छौं। यसैको उदाहरण स्वरुप दलित परिवारमा पुगेर टीका लगाएका हौं ।’ उनले सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि शिक्षा अभियान निरन्तर सकृय रहने बताए।

यता अन्तरजातीय अन्तरघूलनको उदाहरण दिन ब्राम्हण समाजको व्यक्तिले दलितको घरमा टीका लगाएको विषयलाई दलित अगुवाहरुले प्रशंसा गरेका छन् । सामाजिक अभियानता उमेश विश्वकर्माले भने, ‘मान्छे मान्छेबीचकोे अमानवीय सम्बन्धलाई मानवीयकरण गर्न श्रीमन्त जी अभिषेक जी ले सुरुवात गर्नुभएको यो उदाहरणीय कार्यले सामाजिक अन्तरघूलनका लागी सुन्दर अनुहार भित्रको कालो कोठि साबित हुनेछ ।’

त्यस्तै, अभियान्ता गोपाल नेपालीले भट्टराई र घिमिरेको नेतृत्वमा भएको दलित गैरदलित अन्तरघूलनको प्रयास सकारात्मक भएको टिप्पणी गर्दै अहिलेको शिक्षित समाजले विभेद्को विषयलाई तोड्नुपर्ने बताएका छन् । उनले भने, ‘२६ सय बर्ष अघि गौतम बुद्धले चाण्डाल युवतीको हातबाट पानी खाएर छुवाछुतको बिरोध गरेको थिए। आज श्रीमन्त भट्टराईहरु मुसहर परिवारमा टीका लगाएर बिरोध गरिरहेको छन्। उहाँहरुको यो कार्यको जति प्रशंसा गरेपनि कम हुन्छ। तर, अहिलेको शिक्षित समाजको मान्छेले दलितहरुलाई मान्छेको अस्तित्वमा स्वीकार गर्न अझै कति समय लाग्ला ?’

3

समग्र शिक्षामा सुधार साथै विपन्न बालबालिकाको शिक्षामा पहुँच पुर्याउनुपर्छ भन्दै वृहत राष्ट्रिय शिक्षा अभियानले सामुदायिक विद्यालय सुधारको १० वर्षे देशव्यापी अभियान चलाइरहेको छ। मध्यम र तल्लो वर्गका विद्यार्थीहरुको बाहुल्यता रहेको सामुदायिक विद्यालयको भौतिक, सामाजिक र व्यवस्थापकीय पक्ष अत्यन्तै कमजोर हुँदै गइरहेको सन्दर्भमा त्यसको सुधारका लागि अभियानले काम गरिरहेको छ। अभियानले सबै प्रदेशमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको भए पनि प्रदेश १ र प्रदेश २ मा विशेष कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

अभियान नेतृत्वले यस अघि सामुदायिक विद्यालयको भौतिक एवम् शैक्षिक गुणस्तर सुधार्न गरेको वृहत सांकृतिक कार्यक्रममा कक्षा १ मा अध्ययनरत ५ वर्षीया बालिका सञ्जना मरिक (डोम) लाई कार्यक्रमको प्रमुख अतिथि बनाएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्