तपाईको म्यासेञ्जरको कलर कलेजी देखियो ? यस्तो छ कारण

messenger logo
लाेकपाटी न्यूज

काठमाडौं। फेसबुकले निलो र सेतो कलरमा रहेको यस अघिको लोगोमा केही नयाँ कलर थपेको छ। कम्पनीका अनुसार भविष्यको म्यासेजिङको प्रतिबिम्बको रुपमा नयाँ लोगो ल्याइएको हो। जसले थप गतिशिल, रमाइलो र मानिसहरुसँग नजिक रहन इन्टिग्रेटेड फिचरलाई समग्र रुपमा अभिव्यक्त गरेको छ।

तर कतिपयलाई सेतो र निलो रंगमा रहेको लोगोमा कलेजी र निलो रंगको ग्रेडियन्ट भरेको त्यति मन परेको छैन। तर फेसबुकले यो केवल लोगोको परिवर्तन मात्र नभएको स्पष्ट पारेको छ।

पछिल्लो समय कम्पनीले भिडियो कन्फ्रेन्सका लागि रुम, इन्स्टाग्रामसँगको इन्टिग्रेसन लगायतका थुप्रै नयाँ फिचर म्यासेञ्जरमा थप गरिरहेको छ। नयाँ लोगोसँगै कम्पनीले प्रयोगकर्ताको च्याटलाई थप रंगमय बनाउन सकिने गरी च्याट थिम पनि रोलआउट गरेको छ।

यसका साथै थप फिचर चाँडै आउने बताइएको छ। जसमा सेल्फी स्टिकर र भेनिस मोड समेत रहेका छन्। यसले प्रयोगकर्तालाई निश्चित समयपछि म्यासेज स्वतः आफै बिलाउने गरी सेट गर्न सकिने सुविधा समेत दिनेछ।

उल्लेखनीय कुरा के छ भने सेल्फी स्टिकर र भेनिस मोड जस्ता केही फिचर सुरुमा इन्स्टाग्रामको डाइरेक्ट म्यासेजका लागि उपलब्ध हुनेछन्। अब चाँडै इन्स्टाग्रामका प्रयोगकर्ताले एकआपसमा म्यासेञ्जरका प्रयोगकर्तासँग म्यासेज आदान प्रदान गर्न सक्ने फेसबुकले जनाएको छ।

साथै म्यासेञ्जरका कतिपय फिचर इन्स्टाग्राममा समेत थपिँदैछन्। यद्यपी कम्पनीले केही फिचर म्यासेञ्जरभन्दा पहिला इन्स्टाग्राममा उपलब्ध हुने जनाएको छ।

यो नयाँ घोषणामा फेसबुकले म्यासेञ्जर र इन्स्टाग्रामबीच चाँडै क्रस प्लेटफर्म सञ्चार गर्न सकिने भन्दै त्यसको सुरुवात उत्तरी अमेरिकाका प्रयोगकर्ताबाट हुने उद्घोष समेत गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्