देशको समृद्धिको आधार भनेको जाति, भाषा र संस्कृतिको संरक्षण र विकास हो : प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं, ७ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समृद्धिका आधारहरु भनेको त्यो देशको जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास भएको बताएका छन्।

दशैं, तिहार, छठ, नेपाल संवत् लगायतका नेपाली जनसमुदायहरुका चाडपर्वहरुको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।

उनले शुभकामनामा भनेका छन्, ‘विविधतायुक्त सांस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक विशेषता हो। सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास देशको समृद्धिका आधारहरु हुन् ।’

अध्यक्ष प्रचण्डले कोरोना भाइरसको महामारीको विषम् परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्दै चाडपर्व मनाउन उनले अपील पनि गरेका छन्।

अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिको पूर्णपाठः–

शुभकामना

दशैं, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वहरुले आपसी सहिष्णुता, भातृत्व र भावनात्मक एकता पैदा गर्दछन् । यिनै चाडपर्वहरुले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पनि पु-याउँदै आएका छन्।

विविधतायुक्त सांस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक विशेषता हो। सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास देशको समृद्धिका आधारहरु हुन्।कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको सबैमा विदितै छ । यस विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्दै चाडपर्व मनाउन म सबैमा अपील गर्न चाहन्छु।

कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामि दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः एकपटक सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
०७ कार्तिक, २०७७
……………………

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष