नेकपाका नेता चौधरीको निधनप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका नेता मानपुर चौधरीको कोरोना संक्रमणका कारण निधन हुँदा आफू दुःखी भएको बताएका छन्। अध्यक्ष प्रचण्डले समाजिक सञ्जालमार्फत संविधानसभा तथा नेकपाका २ नम्बर प्रदेश कमिटी सदस्य चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘संविधानसभा सदस्य तथा हाम्रो पार्टीका २ नं. प्रदेश कमिटी सदस्य कमरेड मानपुर चौधरीको कोरोना भाइरसको संक्रमणका कारण असामयिक निधन भएको खबर पाउँदा दुखित छु। दिवंगत कमरेड चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु।’

चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मगंलबार निधन भएको हो। उनलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। चौधरीको स्वास्थ्यमा सुधार नभएपछि असोज २ गते राति थप उपचारका लागि बिपी प्रतिष्ठान लगिएको थियो।

चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए। दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ देखिएको थियो। चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।