नेकपामा फेरि विवादः केन्द्रीय कमिटी बैठक सारिएकोप्रति प्रचण्डको असन्तुष्टी

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कमिटी बैठक सारिएको प्रति असन्तुष्टी जनाएका छन्। ठोस सल्लाहबिना एकतर्फी रुपमा विज्ञप्ती जारी गरेर बैठक सारिएपछि अध्यक्ष प्रचण्डले असन्तुष्टी जनाएका हुन्।

पार्टी केन्द्रीय कमिटी बैठक स्थगित गर्ने विषयमा दुई अध्यक्षबीच सल्लाह नै नभएको नेकपा स्रोतको भनाई छ। ‘सरसल्लाहमा बैठक स्थगित भएको होइन। हामीलाई जानकारी छैन,’ स्रोतले भन्यो। नेकपा केन्द्रीय कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले एक विज्ञप्ति जारी गरेर पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठक कोरोना महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको जनाएका थिए।

कात्तिक १५ देखि १७ गतेसम्म हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको विज्ञप्तिमा भनिएको छ। आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ। गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले आगामी चैत २५ बाट सुरु हुने महाधिवेशनको तयारीका लागि कार्तिक १५ मा केन्द्रीय समिति बैठक बस्ने मिति निर्धारण गरेको थियो।

त्यसअघि पार्टी एकताका सबै काम सकेर सांगठानिक कामहरु चुस्त पार्ने नेकपाले घोषणा गरेपनि पूर्व घोषित कार्यक्रमअनुसार एकताका काम नै सम्पन्न हुन सकेका छैनन्। पछिल्लो समय नेकपाको आन्तरिक किचलो बढेपछि दुई अध्यक्षबिचमा सहमति हुन छोडेको छ। कर्णालीमा मुख्यमन्त्री विवाद पछि नेकपाको किचलो झनै बढेको छ। एकतर्फी रुपमा विज्ञप्ती जारी गरेर बैठक सारिएको प्रति अध्यक्ष प्रचण्डले असन्तुष्टी जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्