नेकपा केन्द्रीय कमिटीको बैठक सर्‍यो

nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्वनिर्धारित केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। कात्तिक १५ देखि १७ गतेसम्म हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो।

नेकपा केन्द्रीय कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा केन्द्रीय कमिटीको तेस्रो बैठक कोरोना महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको उल्लेख गरिएको छ। नेकपाको स्थगित केन्द्रीय कमिटी बैठक आगामी मंसिर १५ देखि १७ गते आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ।

आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ। ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड-१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ। स्थगित बैठक यही २०७७ मंसिर १५ देखि १७ गते आयोजना गरिने छ’, विज्ञप्तिमा भनिएको छ।

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले आगामी चैत २५ बाट सुरु हुने महाधिवेशनको तयारीका लागि कार्तिक १५ मा केन्द्रीय समिति बैठक बस्ने मिति निर्धारण गरेको थियो। त्यसअघि पार्टी एकताका सबै काम सकेर सांगठानिक कामहरु चुस्त पार्ने नेकपाले घोषणा गरेपनि पूर्व घोषित कार्यक्रमअनुसार एकताका काम नै सम्पन्न हुन सकेका छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्