नेपालमा कोरोना जित्नेको संख्या बढ्दै : दसैंमा परीक्षण घट्दा संक्रमण कम

corona niko
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, १२ कार्तिक। नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने आँकडा अनुसार कोरोना जित्नेको संख्या बढ्दै गएको छ।

मंगलबार मात्र ३१ सय ६८ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७४ दशमलव १ प्रतिशत नाघेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुग्दा नेपालमा एक लाख १८ हजार ८ सय ४३ जनाले कोरोना जितेका छन्।

मन्त्रालयका अनुसार प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४ सय ७८, बागमतीमा ५७ हजार ९ सय ५५, गण्डकीमा पाँच हजार ७ सय ६०, लुम्बिनीमा १४ हजार ५ सय १०, कर्णालीमा चार हजार ६ सय २० र सुदूरपश्चिममा आठ हजार ४ सय ९१ सङ्क्रमणमुक्त भएका छन्।
मंगलबार २७ सय २५ नमूना परीक्षण गर्दा ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार कर्णाली र सुदूपश्चिममा मंगलबार सङ्क्रमित भेटिएका छैनन्।

दसैंमा परीक्षण घट्दा संक्रमण कम

दसैंको समय भएकाले स्वाब परीक्षण कम हुँदा संक्रमित कम भएको देखिन्छ। मन्त्रालयका अनुसार शुक्रबार अर्थात् दसैंको फूलपातीका दिन १६ हजार आठ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको थियो। तीमध्ये चार हजार चार सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै शनिबार महाअष्टमीका दिन १३ हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण हुँदा दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि भएको थियो। आइतबार महानवमीका दिन १२ हजार तीन सय ११ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार आठ सय ५६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो।

सोमबार विजयादशमीको दिन पाँच हजार छ जनाको मात्रै पीसीआर परिक्षण गरिएको थियो। तीमध्ये एक हजार सात सय ४१ जनामा कोरोना पुष्टि भएको थियो। नेपालमा अहिले ४० हजार ६८१ सक्रिय सङ्क्रमित आइसोलेसनमा छन्। पछिल्ला दिनमा घना बस्ती भएका जिल्लामा संक्रमण तिब्र देखिएको छ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सय बढी सक्रिय सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ।

७६ जिल्लामा कोरोनाका सक्रिय संक्रमित भए पनि अहिलेसम्म मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन्। पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ। चाडपर्वको समयमा संक्रमण केही घटेको देखिए पनि चाडपर्वमा धेरै आवतजावत भएकाले फेरि संक्रमण बढ्ने अनुमान जनस्वास्थ्यविद्ले गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्