पोखरामा कोरोना संक्रमित थप दुई जनाको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

पोखरा, १४ कार्तिक। पोखरामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मृतक दुई जनामध्ये एक जनाको अस्पतालमा र अर्काको होम आइसोलेशनमा बसिरहेको अवस्थामा शुक्रबार मृत्यु भएको हो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गतको कोरोना अस्पतालमा स्याङ्जाका संक्रमितको निधन भएको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार मृतक वालिङ नगरपालिका ५ का ७० वर्षीय पुरुष हुन्।

उनमा कात्तिक ९ गते कोरोना पुष्टि भएको थियो। उपचारको क्रममा शुक्रबार बिहान ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए। मृतकमा कोभिडसँगै अन्य दीर्घ रोगसमेत रहेको उनको भनाइ छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार कक्षमा ज्यान गुमाउने उनी २२ औं संक्रमित हुन्।

यस्तै, पोखरा–१५ का ८१ वर्षीय संक्रमित पुरुषको पनि शुक्रबार नै मृत्यु भएको हो। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार बिहान उनको होम आइसोलेसनमा निधन भएको हो। उनमा १२ गतेमात्रै कोरोना पुष्टि भएको थियो। पछिल्लो विवरणअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ भने ७ हजार २८१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्