‘प्रचण्ड-नेपालले चाहे ओली समूहका सबै मुख्यमन्त्री हट्नेछन्’

Communist Party Nekapa
लाेकपाटी न्यूज

सुर्खेत, ८ कार्तिक। कर्णाली प्रदेशमा प्रचण्ड र माधव नेपाल पक्षले एक ढिक्का भएर मुख्य मन्त्री विरुद्ध अविस्वास प्रस्ताव अस्वीकृत गरेर ओली पक्षलाई झड्का दिएको छ।

आफैले गरेको निर्णय आफै लागू नगर्ने, पार्टीले आधिकारीक रुपमा गरेका निर्णय लागू नगरेको भन्दै प्रचण्ड र माधव नेपाल पक्ष मिल्दा नेकपा भित्र ओली पक्ष अल्पमतमा पर्ने यस अघि पनि पुष्टी हुँदै आएको थियो।

प्रधानमन्त्री ओलीकै सहमतिमा यामलाल कँडेल समूहले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध १८ जना सांसदको हस्ताक्षर संकलन गरेर दर्ता गराएका थिए। तर प्रचण्ड र नेपालको सक्रियतामा दुबै पक्षका करीब ९ जना सांसदले हस्ताक्षर फिर्ता लिए पछि ओली पक्ष अल्पमतमा परेसगैँ मुख्य मन्त्री परिवर्तन गर्ने ओली पक्षको योजना असफल भएको छ।

वालुवाटारमा दुबै पक्षबीचको तनाव चलिरहेका बेला कर्णालीमा देखा परेको नजिर लागू भएमा प्रदेश नं १, बागमति प्रदेश र लुम्वीनी प्रदेशमा समेत दुई समुहले चाहेमा संसदीय दलको नेता फेरेर मुख्य मन्त्री परिवर्तन गर्न सक्ने देखिएको छ। तर दुबै पक्ष पार्टी मिलाउने रणनीतिमै रहेकाले यो कदम भने चालिहाल्ने स्थितिमा नपुगेको स्रोतले बताएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहनुभएका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। प्रदेशसभा सचिवालयस्थित दलको कार्यालयमा आज बसेको बैठकले ध्वनिमतका आधारमा उक्त प्रस्ताव अस्वीकृत गरेको हो।

प्रदेशसभा सदस्य एवं नेकपा कर्णाली प्रदेशका सहइञ्चार्ज यामलाल कँडेल नेतृत्वमा १८ सदस्यले गत असोज २५ गते संसदीय दलमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो।

उक्त प्रस्तावबाट सात सदस्यले हस्ताक्षर फिर्ता लिएलगत्तै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाद समाधानका लागि मुख्यमन्त्रीसहित दुवै पक्षका नेताहरुलाई काठमाडौं बोलाएक थिए। कर्णालीको विवादबारे दुई अध्यक्षबीच सहमति नजुटेपछि मुख्यमन्त्री शाहीले सुर्खेत फर्किएर दलको बैठक बोलाउन प्रमुख सचेतक सीता नेपालीलाई निर्देशन दिएका थिए।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सहयोग गरेको आरोपमा मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई पदमुक्त गरी नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी तोकेका थिए। बैठकमा पूर्वमाओवादी पक्षका १० र पूर्वएमालेका माधवकुमार नेपाल नजीकका आठ जना गरी १८ सदस्यले ध्वनिमतका आधारमा उक्त प्रस्तावमाथि मतदान गरेका थिए। प्रमुख सचेतक नेपालीले मत घोषणा गर्दै दलका नेताविरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत भएको जानकारी दिए।

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने दलको बैठकमा उपसभामुख पुष्पा घर्ती तथा मन्त्रीद्वय दल रावल र नन्दसिं बुढा अनुपस्थित थिए। घर्ती पूर्वमाओवादी खेमा र मन्त्रीद्वय पूर्वएमालेका प्रधानमन्त्री ओली नजीकका मानिन्छन्।

त्यस्तै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने कँडेलसहित ११ सदस्य पनि अनुपस्थित थिए। कँडेल समूहले आजको बैठकलाई अवैधानिक बताउँदै बहिष्कार गरिएको जनाएको छ। आजको बैठकमा १८ सदस्य उपस्थित थिए। कर्णाली प्रदेशसभामा सभामुखबाहेक नेकपाका ३२ सदस्य छन्। मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथिको मतदानमा १८ उपस्थित थिए भने इतरसमूहका १४ सदस्यले बैठक बहिष्कार गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्