प्रधानमन्त्री ओलीले ‘रअ’ प्रमुखलाई भेटेपछि भीम रावलको कडा आपत्ति

Rawal_Bhim
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका नेता भीम रावलले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेट आपत्तिजनक भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता रावलले उक्त भेट कूटनीतिक मर्यादाको विपरीत भएको पनि टिप्पणी गरेका छन्।

‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादाविपरीत छ,’ रावलले लेखेका छन्।

भारतीय एयरफोर्सको जहाज चार्टर्ड गरी बुधबार दिउँसो रअ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका थिए। एक वर्षदेखि भारतसँग कालापानी र लिपलेकबारे तनाव जारी रहेका बेला गोयल नेपाल आएर प्रधानमन्त्रीसँग भेटेर फर्किएका हुन्।

प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीच बुधवार राती बालुवाटारमा भेट भएको थियो। भेटमा नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। उक्त भेट नेकपाको विचार, नीति र घोषणाको विपरीत भएको रावलको भनाई छ।