‘प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीच भएको संवाद सार्वजनिक गर’

Biplap
लोकपाटी न्यूज

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच भएको छलफलको विषयबस्तु सार्वजनिक गर्न माग गरेको छ। विप्लव नेकपाले गठन गरेको जनपरिषदले शनिबार एक विज्ञप्ति जारी गरेर छलफल गोप्य रहनु गम्भीर आपत्तिजनक भएको बताएको छ।

जनपरिषदका प्रमुख सन्तोष बुढामगरले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘हालै नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीले भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गर्नु भनेको नेपाल र नेपाली जनताका निम्ति हदैसम्मको लज्जास्पद विषय हो। यसले नेपालको संसदीय व्यवस्था दलालहरूको हातबाट सञ्चालित छ भन्ने कुरा स्पष्ट गर्दछ। भेटघाटमा कुन विषयमा छलफल भयो भन्ने कुरा गोप्य रहनु गम्भीर आपत्तिको विषय हो। तत्काल उक्त विषयलाई नेपाली जनतासामु सार्वजनिक गर्न माग गर्दछौँ।’

रअका प्रमुख गोयलले बुधबार राति ९ : १५ देखि मध्यराति १२:१० सम्म बालुवाटारमै प्रधानमन्त्री ओलीसँग भेटेका थिए। राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुखसँग गरेको भेटले उनको आलोचना भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्