‘प्रधानमन्त्री र खुफिया प्रमुखको हैसियत एउटै भएको हो ?’

लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादा बिर्सेर भेटेको विषयमा साझा पार्टीले आपत्ति जनाएको छ। कूटनीतिक मर्यादाविपरीत भएको उक्त भेटले नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथिको ठाडो आक्रमण भएको साझा पार्टीले भनेको छ।

साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन् ? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन्। यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन ?’

साझा पार्टीले खुफिया एजेन्सी प्रमुखलाई नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत मिलेको दाबी गरेको छ। ‘के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन् ? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस् । होइन भने, आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिएको र अर्कोतिर खुफिया एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कुटनीति भारतसँगको सम्वन्धमा कुन तहमा गिरेको छ भन्नेमात्र स्पष्ट पारेको सझाले जनाएको छ। खुफिया एजेन्सीका प्रमुखलाई प्रधानमन्त्रीले भेट्नु लज्जाजनक रवैया भएको साझा पार्टीको भनाइ छ। गोयललाई प्रधानमन्त्रीले भेटेको उनको सचिवालयले जानकारी दिएको छ। उक्त भेटको सत्तारुढ नेकपाभित्र पनि आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्