फागुनदेखि पेट्रोलियम पदार्थको ड्रिल गर्ने काम सुरु गर्ने तयारी

लाेकपाटी न्यूज

काठमाडौं, ८ कार्तिक। दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काम फागुनदेखि सुरु गर्ने तयारी छ।

कोरोना भाइरसका कारण बन्दाबन्दी नभएको भए तिहारपछि ड्रिल गर्ने योजना खानी तथा भूगर्भ विभागको थियो तर बन्दाबन्दीका कारण ड्रिल औजारहरू ल्याउन सकिएको छैन। वर्षाका कारण फिल्डमा गएर गर्ने काम पनि भएको छैन।

अहिले सबै काम ठप्प रहेको विभागका उपनिर्देशक सुधीर रजौरेले जानकारी दिए। उनले भने, “बन्दाबन्दी नभएको भए अहिलेसम्म ड्रिल गर्ने औजार चीनबाट आइसक्थ्यो। हवाई सेवा पनि बन्द भएकाले ड्रिल औजार ल्याएको छैन। अब सन् २०२१ को सुरुबाट ड्रिल गर्ने सोच छ। ” ड्रिल औजार चीनको कम्पनीले आफैँ ल्याउने छ।

तर कोरोनाको प्रभाव त्यतिबेलासम्म कस्तो हुन्छ यसै भन्न सकिने अवस्था नरहेको उपनिर्देशक रजौरेको भनाइ छ। कुन स्थानबाट ड्रिल गर्ने भन्ने पहिचान गर्न गरिएको अध्ययनको प्रतिवेदन निर्माण तयार रहेको रजौरेले जानकारी दिए। चीनको अध्ययन समूहले प्रतिवेदन अध्ययन गरेको थियो। छिट्टै उनीहरूले निष्कर्ष दिने विभागले जनाएको छ। अबको काम ड्रिल हो।

विभागका अनुसार विगतका अध्ययनले दैलेखमा कच्चा तेल र ग्यास छ भन्ने कुरा देखाएको छ। रजौरेले भने, ‘दैलेखमा पेट्रोलियम पदार्थ त पक्कै छ तर कति र कस्तो छ भनेर पत्ता लगाउने काम ड्रिलबाट हुन्छ।’ उनका अनुसार कच्चा पेट्रोलियम पदार्थ जम्मा भएर रहने खालको भौगर्भिक संरचना दैलेखमा छ।

विभागले गत वर्ष ‘सेस्मिक रेफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’ गरेको थियो । सोही सर्भेका आधारमा ड्रिलको काम गर्न लागिएको हो। ड्रिल ४.५ किलोमिटर गहिराइमा गरिने छ। ड्रिल एक स्थानबाट मात्र नभई विभिन्न स्थानबाट गरिने योजना छ। जसका लागि सम्भावित स्थानहरूको पहिचान हुँदै गरेको आजको गोरखापत्र दैनिकमा खवर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्