बीएण्डसीका ४० स्वास्थ्यकर्मीले जिते कोरोना

BNC
लाेकपाटी न्यूज

बिर्तामोड, ८ असोज। झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलका १० जना चिकित्सक सहित ४० जना स्वास्थ्यकर्मीले कोरोना जितेका छन्। झापासहित देशभर कोरोनाको संक्रमण बढी रहेका बेला अग्रस्थानमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइरहेका छन्।

१४ दिन अघि कोरोना पोजेटिभ देखिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले शनिबार कोरोना जितेको बीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए। कोरोना देखिएपछि सबैलाई अस्पतालले छुट्टै होम आइसोलेसन तथा अस्पतालकै आइसोलेसनमा राखेर उनीहरुको उपचार गरेको थियो।

कोरोना जितेका चिकित्सक तथा स्वास्थ्यकर्मीले उच्चमनोबल बनाउन र संक्रमण हुदैंमा मरिन्छ भन्ने नसोच्न आग्रह गरेका छन्। स्वास्थ्य सावधानी अप्नाएर सुरक्षित भएमा सहज रुपमा कोरोना जित्न सकिने उनीहरुको भनाइ छ।

यसैबीच बीएण्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले दशैंको अवधिमा पनि आफ्ना सेवाहरु सूचारु राख्ने भएको छ। बिगतका बर्षहरुमा समेत सबै सेवा सञ्चालन गर्दै आएको बीएण्डसी हस्पिटलले यो वर्ष पनि सबै सेवालाई सूचारु राख्ने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए।

पूर्वकै सुविधा सम्पन्न अस्पताल रहेको र सबै विरामीहरुको उपचार गर्दै आएको बीएण्डसी हस्पिटलले कोरोनाको कहरको यो अवस्थामा पनि आफ्ना सेवाहरु बन्द नगरि सुचारु राखेको बताइएको छ। अस्पतालमा प्रदेश–१ का सबै जिल्ला तथा पश्चिम नेपाल र भारतका विभिन्नबाट समेत उपचारका लागि बिरामीहरु आउने गरेको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए।

बीएण्डसी हस्पिटलमा कोरोना छ भन्दै गलत हल्ला फैल्याएको प्रति अस्पतालले उक्त हल्लाको पछि नलाग्न र बीएण्डसी हस्पिटल सुरक्षित रहेको र सबै सेवाहरु निरन्तर रुपमा सञ्चालन भइरहेको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्