‘मुकेश चौरासियाको हत्याका दोषीलाई गुटगत संरक्षण’

nekpa-neta jhadap
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले पर्सा घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। पर्सा विन्दावासिनी गाउँपालिका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरासियाको हत्याको घटनाबारे गहिरो छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नै कार्यकर्ताको हत्या हुँदासमेत जाहेरी नबुझ्ने सरकारबाट जनताले के आशा राख्ने भन्दै प्रश्नसमेत गरेका छन्। हत्याको जाहेरी समेत नलिएको र अस्पतालमै मृतकको शव रहिरहनु दुखद् भएको उनको भनाई छ। पार्टीले घटनाको दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानून कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो भनेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सत्तारूढ दल नेकपाको स्थानीय दुई समूहबीच पर्सा जिल्लामा असोज ६ गते बिहीबार झडप भएको, एक घाइतेको उपचारक्रममा निधन भएको र दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेको सार्वजनिक समाचार विवरणहरूप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ।’

यसका साथै पार्टीले निष्पक्ष अनुसन्धान र कानूनी कारबाहीको प्रक्रिया अविलम्ब सुरू गर्न समेत संघीय र प्रदेशलाई आग्रह गरेको छ। नेकपाभित्रको द्वन्द्व तथा सत्ता-उन्मादका कारण आफ्नै कार्यकर्ताको हत्या हुँदासमेत चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको शर्माले टिप्पणी गरेका छन्। ‘घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो,’ उनले भनेका छन्, ‘तर, तीन दिन पुग्दासम्म जाहेरीसमेत नलिएर नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ।’

गत बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको थियो। एक पक्षलाई नबोलाएको भन्दै पार्टीकै कार्यकर्ताबीच झडप भएको थियो। उक्त झडपमा आठ जना घाइते थिए। त्यसमध्ये चौरासिया गम्भीर घाइते भएका थिए। घाइते चौरासियाको शुक्रबार बिहान मृत्यु भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्