‘रअ’ का प्रमुखसँग भेट गरेको छैन : माधवकुमार नेपाल

madhav kumar nepal
लाेकपाटी न्यूज

काठमाडौं, ६ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुखसँग भेट नभएको बताएका छन्।

बिहीबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमार्फत् नेता नेपालले यसबारेमा प्रष्ट पारेका हुन्। कतिपय सञ्चारमाध्यममा माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनि आएका खबरमा सत्यता नभएको उनले बताएका हुन्।

नेता नेपालले ट्विटरमा लेखेका छन्, ‘म र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोकल्पित र भ्रामक समाचारहरु प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरुको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ।’

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेट भएको थियो। प्रधानमन्त्री ओलीको निजी सचिवालयले विज्ञप्ति नै निकालेर प्रधानमन्त्री ओली र रअका प्रमुख गोयलबीच भेट भएको जानकारी गराएको छ। उनीहरुबीच बुधबार राति नै प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो।

रअका प्रमुख समान्तकुमार गोयल बुधबार बेलुकी विशेष जहाजमार्फत काठमाडौं आएका थिए। उनी बिहीबार बिहान भारत फर्किसकेका छन्।  आउँदो कात्तिक १८ गते भारतीय सेनाध्यक्ष एमएम नरभाने नेपाल आउनुअघि रअ प्रमुखको आगमनलाई महत्त्वका साथ हेरिएको थियो ।