रअ प्रमुख गाेयललाई ओलीले भेटे, प्रचण्ड-नेपालले भेट्न मानेनन्

लाेकपाटी न्यूज

काठमाडौं, ६ असोज। भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको सचिवालयले पुष्टि गरेको छ।

प्रधानमन्त्रीको नीजि सचिवालयले बिहीबार एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले गोयलसँग शिष्टाचार भेट गरेको जानकारी दिएका हुन्। प्रधानमन्त्रीसँग भेटका लागि बुधबार बेलुका गोयल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

भेटका क्रममा उनले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेका प्रधानमनत्री ओलीको सचिवालयले जनाएको छ।

रअका प्रमुख गोयलसहित भारतीय अधिकारीहरूको विशेष टोली बुधबार भारतीय वायु सेनाको विशेष विमानमार्फत् बुधबार नेपाल आएको थियो। काठमाडौं बसाइका क्रममा उनले केही अधिकारीसँग अनौपचारिक परामर्श गरेको दाबी स्रोतले गरेको छ। पूर्वप्रधानमन्त्रीद्धय एवं नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। करिब २२ घन्टाको बसाइपछि गोयल बिहीबार नै स्वदेश फर्किएका छन्।

छिमेकी भारतसँग संवादहीनता बढिरहेका बेला भएको उनको आकस्मिक भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भारतीय सेनाप्रमुख कात्तिक तेस्रो हप्ता नेपाल आउँदैछन्। त्यही भ्रमणको तयारी बुझ्ने सिलसिला तथा चिसिएको सम्बन्धलाई कसरी पुरानै अवस्थामा न्यानो बनाउन सकिन्छ भन्ने बारेमा अनोपचारिक परामर्श गर्न उनी नेपाल आएको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्