‘रअ’ प्रमुख भेटबारे डा. बाबुरामको जवाफः कागको पछि नदौडौं

Baburam-Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। भारतको गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग आफ्नो पनि सुटुक्क भेट भएको भनी हल्ला भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जवाफ दिएका छन्। बुधबार बिहान साहित्यकार खगेन्द्र संग्रौलाले सोही विषयमा गरेको ट्वीटसमेत संलग्न गरी जनता समाजवादी संघीय परिषदका अध्यक्ष डा. भट्टराईले ‘कान नछामी, कागको पछि कुदेको’ टिप्पणी गरेका थिए।

संग्रौलाले भट्टराईतर्फ लक्षित गर्दै ट्‌विटरमा लेखेका थिए, ‘डा. बाबुराम भट्टराई रअ प्रमुख सामन्त गोयल्सलाई सुटुक्क भेट्ने, सामन्त गोयल्स बाबुराम भट्टराईका देहमा सुटुक्क कोरोना भाइरस सल्काउने! अनि यता बाबुराम आइसोलसनमा, उता सामन्त आइसोलेसनमा। देहमा भाइरस सल्काइनु सामान्य कुरा हो, दिमागैमा भाइरस सल्काए कि भन्‍ने आशंकाले पो सतायो!’

जवाफमा डा भट्टराईले भनेका छन्, ‘खगेन्द्र संग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य/न्याय, बुद्धि/विवेकको के अपेक्षा गर्नु? भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश! बीपी र पीएललाई बाँचुञ्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश! अनि हामी पछि नपरे को त?’

रअ प्रमुख गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको ओलीको सचिवालयले जानकारी गराएको छ। कात्तिक ५ गते काठमाडौं आएका रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए। अन्य नेतासँगको भेट भएको आशंका गरिए पनि औपचारिक पुष्टि भएको छैन। केही भारतीय सञ्‍चारमाध्यममा भने भट्टराईसँग पनि गोयलको भेट भएको खबर प्रकाशित भएपछि संग्रौलाले ट्‌वीट गरेका थिए।