‘रोजगारी प्रवर्द्धनका लागि डिजिटल बैंकिङ प्रणाली महत्वपूर्ण अवसर हो’

mahaprasad adhikari
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति एएफआई र जी २४ का सदस्य राष्ट्रका सरकार र केन्द्रीय बैंकहरु केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

जी २४ एएफआई पोलिसीमेकरर्स राउण्डटेबल बैठकमा भाग लिँदै उनले साना तथा मझौला उद्यम/व्यवसायको पुनरुत्थानको निम्ति स्रोतको व्यवस्थापन, नीतिगत तथा नियामकीय सहुलियत, विद्युतीय बैंकिङ प्रणालीको प्रवर्द्धनका निम्ति केन्द्रित हुनुपर्ने बताए।

गभर्नर अधिकारीले कोभिड संक्रमणको विषम परिस्थितिलाई विद्युतीय भुक्तानी प्रणाली र ई-कमर्स प्रवर्द्धनको अवसरका रूपमा लिइनुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘डिजिटल बैंकिङको प्रवर्द्धनबाट युवा पुस्ताको रोजगारी प्रवर्द्धन र उद्यमशीलताको विकासमा टेवा पुग्न सक्छ।’

एलाइन्स फर फाइनान्सियल इन्क्लुजनका सञ्चालक समितिका सदस्यसमेत रहेका गभर्नर अधिकारीले कोभिडबाट देखिएको समस्यालाई अवसरको रूपमा लिएर अगाडि बढ्नुपर्ने उल्लेख गरे। सो बैठकमा सहभागीबीच कोभिड-१९ का कारण अर्थतन्त्रमा परेको असरको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत प्रयास र युवा पुस्ताको वित्तीय समावेशीकरणका विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

बैठकमा आर्थिक वृद्धि र विकासमा युवा पुस्ताको भूमिका र डिजिटल वित्तीय साक्षरतामार्फत वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्