वडादशैं : देवकाे मुक्ति र महिषासुरकाे बधकाे मिथक

Mahishasur pic
महेश्वर श्रेष्ठ

पौराणिक कालमा दक्षिण एसियाको साहित्य लेखनमा कल्पनाशीलताले निकै उच्च स्तरको विकास गरेको पाइन्छ। ती कथाहरु मध्ये विजया दशमीको कथा एउटा उत्कृष्ट नमूना हो। तर त्यति हुँदा हुँदै पनि धेरै जसो कथाहरु एकांगी, एकपक्षीय, देवताहरुको पक्षधर र दानवहरु प्रति क्रोध, घृणा, सर्वकालिक, सर्वव्यापी पूर्वाग्रह जगाउने उद्देश्यबाट प्रेरित छ। तर अब जमाना फेरिएको छ। मानव समाजले द्वन्दात्मक भौतिकवादलाई बुझ्न र व्याख्या गर्न जाने पछि हरेक कुरालाई पक्ष र विपक्षको कसीमा अध्ययन गरेर निष्कर्षमा पुग्ने, तथ्यवाट सत्यसम्म पुग्ने गरिन थालिएको छ। यहाँ हिन्दुहरुको एउटा ठूलो चाड विजया दशमीलाई पनि द्वन्दात्मक अध्ययन विधिबाट प्राप्त निचोडको आधारमा त्यसको कथावस्तुलाई सोही अनुसार प्रस्तुत गर्न खोजिएको छ।

पौराणिक कालका एक दानवराज रम्भासुरले महिष (भैंसी) को पूजा गरेबाट उनलाई एक पुत्र लाभ भयो जसको नाम सोही मुताबिक महिषासुर राखियो। किशोर अवस्थामा पुगेर राजकाज तथा अस्त्रशस्त्र चलाउने विद्या सिक्दै गर्दा महिषासुरमा तीन त्रिभुवन चौधै लोकको अधिपति बन्ने महत्वाकांक्षा पलाउन थाल्यो। त्यसको प्राप्तीको लागि उनले धेरै वर्षसम्म सृष्टिकर्ता ब्रम्हाको कठोर तपस्या गरे। उनको तपस्याबाट खुसी भएका ब्रम्हाले बर माग्न भन्दा उनले कहिल्यै मर्न नपर्ने अमरत्वको बर मागे। ब्रम्हाले जसको जन्म हुन्छ उसले एक दिन मर्नै पर्छ। विधिको यस विधानलाई कसैले बदल्न वा टार्न सक्दैन, मैले पनि सक्दिन। अमरत्व भन्ने चिजको कुनै अस्तित्वनै छैन। त्यसैले हुँदै नभएको अमरत्व बाहेक अरु कुनै वर माग भन्दा महत्वाकांक्षी भए पनि समझ्दारमहिषासुरले देवता, मानव, दानव कोहि पनि पुरुषले मलाई मार्न नसकोस्, मेरो मृत्यु कुनै एक्ली नारीबाट मात्र हुन सकोस् भनेर वर मागे। ब्रम्हाले पनि तथास्तु भनेर महिषासुरको ईच्छा बमोजिमको वरदान दिएर अन्तरध्यान भए।

त्यसको केहि समयपछि महाराज रम्भासुरको देहावसान भयो र महिषासुर राजा बने। राजा बने लगत्तै उनले आफ्नो महत्वाकांक्षा अनुरुप राज्य विस्तार अभियान पनि जोडतोडका साथ अगाडी बढाउन थाली हाले। ब्रम्हाबाट प्राप्त वरदानले अति शक्तिशाली र पराक्रमी बनेका जन्मैले महाबली महाराज महिषासुरको अगाडी कोहि टिक्न सकेनन्, देवराज ईन्द समेत सजिलै पराजित भएर सम्पूर्ण देवगण गुप्तवास वस्न वाध्य भए र थोरै समयमा महिषासुर तीनत्रिभुवन चौधलोकको चक्रवर्ती सम्राट बने। अत्यन्त असुरक्षित र त्रासदीपूर्ण गुप्तवास अर्थात भूमिगत जीवन विताइरहेका देवताहरुले त्यसबाट मुक्ति पाउन कि महिषासुरको पराधिनता स्वीकार गर्नु पर्ने कि प्राणदण्ड भोग्नु पर्ने जीवन मरणको अवस्था भोगिरहेका थिए।

त्यस्तो सकसपूर्ण अवस्थाबाट मुक्ति प्राप्त गर्न र खोसिएको स्वर्गको राज्य फिर्ता पाउन देवताहरु सबभन्दा पहिले सृष्टिकर्ता ब्रम्हाको शरणमा गए। ब्रम्हाले मेरो आफ्नै वरदानले गर्दा शक्तिशाली बनेको महिषासुरलाई म आफैले केहि गर्न सक्दिन बरु हामी सबै प्राणीका पालनहार तारणहार भगवान विष्णुको सहयोग लिन जाऔं भने पछि ब्रम्हा, ईन्द्र लगायत सबै देवगण बैकुण्ठधाम पुगे। देवताहरुको फिराद सुने पछि भगवान विष्णुले पनि ब्रम्हाको वरदान प्राप्त महिषासुरलाई मैले पनि केहि गर्न सक्दिन, बरु हामी सबै संहारकर्ता देवाधिदेव महादेवको शरणमा जाऔं भने पछि ब्रम्हा, विष्णु, ईन्द्र लगायत सबै देवगण कैलाश पर्वत पुगे। देवताहरुको समस्या बारे सुने पछि महादेवले पनि ब्रम्हाको वरदान प्राप्त महिषासुरलाई मैले पनि केहि गर्न सक्दिन। वरदानको सर्त अनुसार महाषासुरको मृत्यु स्त्रीको हातबाट हुन सक्ने रहेछ भने महाकाली रणचण्डी बनेर शुम्भ निशुम्भ आदि दानवहरुलाई बध गरिसकेकी पार्वतीले केहि गर्न सक्छिन् कि, उनैलाई सोध्नु पर्छ भने पछि सबै देवगण देवी पार्वतीको सहयोग माग्न उनको शरणमा पुगे।

देवताहरुको करुणक्रन्दन सुनिसके पछि देवी पार्वतीको मन पग्लियो र उनले “अरु बेला मध्यपान र अप्सराको रसरंगमा लट्ठिएर बस्ने, असुरहरुले खेदे पछि हामी कहां रुन कराउन आउने तिमीहरुको बानी पटक्कै मन पर्दैन“ भनेर फट्कार्दै “शरणलाई मरण गर्न दिन हुँदैन भन्ने नीति मान्ने भएकोले मात्र यो एक पटक तिमीहरुलाई अभयदान दिन्छु र महिषासुरलाई धपाएर तिमीहरुको राज्य फिर्ता दिलाइदिने अन्तिमसम्म प्रयास गर्नेछु तर तिमीहरुले पनि मलाई आफूसंग बाकी बचेको शक्तिले सहयोग गर्नु पर्छ” भने पछि देवताहरुले देवी पार्वतीको जयजयकार गर्दै आफुसंग रहेको हातहतियार र लडाकुहरु उनलाई बुझाउन थाले। अहिले हामीले देख्ने गरेको देवी भगवतीको मूर्तिमा देखिने सोर्हे वटा हातहरु तिनै हातहतियार र सैनिकगणको प्रतिक हो। देवि पार्वतीको वास्तविक हात अरु सबैको जस्तो दुइटा मात्रै थियो।

देवताहरुबाट प्राप्त सबै शस्त्रास्त्रबाट सुसज्जित भएर देवी पार्वती दानवराज महिषासुरलाई स्वर्गबाट फिर्ता पठाउने अभियानमा लागिन्। देवता र दानव सेना बिच घनघोर लडाईं भयो तर महाबली महिषासुर र उनको बीर दानव सेनाको अगाडी देव सेनाको केहि जोर चलेन। उनीहरु मध्ये धेरैको ज्यान गयो र बाकी बचेकाहरु ज्यान बचाउन युद्ध मैदानबाट भागेर पुनः भूमिगत बन्न पुगे। यसरी रण भूमिमा एक्लिएकी देवी पार्वतीले प्रत्यक्ष युद्ध गरेर महिषासुरलाई हराउन नसकिने देखे पछि छल गरेर हराउने रणनीति अपनाउन पर्ने निर्णयमा पुगिन्। महिषासुर महाबली पराक्रमी मात्र थिएन मायावी पनि थिए र चाहेको रुप धारण गर्न सक्दथे। उनको त्यही शक्ति थाहा पाएकी पार्वतीले पनि नवदुर्गा (शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिधात्री) को रुप धारण गरी महिषासुरले जितेका देवता, मानव, दानव सबैको राज्य फिर्ता गरेर सबैसंग सदभाव र मित्रवत व्यवहार गर्न नौ दिनसम्म लगातार सम्झाउंदा पनि नमानेकाले दशौं दिन अर्थात आश्विन शुक्लपक्ष दशमीको दिन निधारमा तन्त्र साधना गरी तयार गरिएको कालो टीका लगाई अत्यन्त सुन्दरी युवती (मोहिनी) को रुप धारण गरी महिषासुर आवत जावत गर्ने क्षेत्रमा विचरण गर्न थालिन् ।

धेरै जसो सर्वोच्च शासकहरु सुरा र सुन्दरी भने पछि हुरुक्क हुन्छन्। महिषासुर पनि त्यसको अपवाद थिएनन् र आफ्नो अगाडी अत्यन्त आकर्षक मनमोहक युवतीलाई देखेर मोहित भइहाले र आफूलाई तीनत्रिभुवन चौधलोकको अधिपति चक्रवर्ती सम्राट भएको परिचय दिंदै विवाहको प्रस्ताव राखे । मोहिनी रुपी देवी पार्वतीले खोजेको, चाहेको कुरा पनि महाराज महिषासुरले त्यस्तै गरून् भन्ने थियो। त्यसबाट मनमनै खुसी हुंदै तर प्रकटमा रिसाएको नखरा गर्दै भनिन् “तिम्रो प्रस्ताव मलाई स्वीकार छ तर मेरो एउटा सर्त छ (जसले मसंग विवाह गर्न चाहन्छ उसले मसंग युद्ध गरी मलाई जित्न सक्नु पर्छ। तिमीलाई मेरो सर्त स्वीकार छ भने ल अहिल्यै मसंग युद्ध गर र जित्न सक्यौ भने मलाई विवाह गरेर लैजाऊ“ भने पछि महिषासुरले त्यसलाई मजाक ठानेर हांस्दै पार्वतीसंग युद्ध गर्न थाले। तर उनले आफूलाई मन परिसकेकी युवतीलाई कुनै चोटपटक नलागोस् भनेर पार्वतीको प्रहारलाई छलेर मात्र गलाउने र बिना हिंसा युद्ध जितेर उनलाई हासिल गरीछोड्ने रणनीति अपनाउन थाले। त्यस क्रममा उनले अनेक मायावी रुप धारण गरी पार्वतीलाई छल्न थाले। त्यसो गर्दा गर्दै आफै पनि थाकिसकेको महिषासुरले महिष (रांगो) को रुप धारण गरी छल्न खोज्दा देवी पार्वतीको त्रिशुल र खड्गको प्रहारबाट उनको मृत्यु भयो। त्यसरी देवी पार्वतीले विजय प्राप्त गरेको र महाराज महिषासुर मारिएकोत्यस दिन आश्विन शुक्लपक्ष दशमीको दिनलाई पछि विजया दशमी भन्न थालियो।

माथिको कथानकबाट के देखिन्छ भने महाराज महिषासुर धेरैले भन्ने गरे जस्तो अत्याचारी थिएनन्। त्यस युगको चक्रवर्ती राजा हुनेले अरु सबै जातजाति (देवता, मानव, दानव समेतका) राजा रजौटाहरुलाई युद्धमा जितेर आफ्नो अधिनस्थ राख्न खोज्नु स्वाभाविकै हो। महिषासुरले पनि त्यति मात्र गरे जुन अरु चक्रवर्ती राजाहरुले गर्ने गर्दथे। यस अर्थमा महिषासुरलाई तीन त्रिभुवन चौधै लोक अर्थात विश्व ब्रम्हाण्डकै महान एकीकरण कर्ता मान्नु पार्छ। अर्को तर्फ अरुको आधिपत्य वा दासत्व स्वीकार नगर्नेहरुले गुप्तवास बसेर (भूमिगत भएर) शक्ति संचय गर्नु, शुभेच्छुक शुभचिन्तकहरुबाट जन, धन र भौतिक सहयोग प्राप्त गर्ने र आफ्नो गुमेको स्वतंत्रता र राज्यसत्ता फिर्ता पाउने प्रयास गर्नु पनि स्वाभाविकै हो। यस कथानकमा ईन्द्रले पनि त्यही गरे जुन युद्धमा पराजित भई राज्य गुमाएका तर आत्मसमर्पण गर्न नचाहने अरु राजाहरुले गर्ने गर्दथे।

माथिको कथानकबाट यो पनि स्पष्ट हुन्छ कि। वास्तविक युद्ध देवता र दानव बिच थियो, पराधिनता र स्वतंत्रता बिच थियो, महिषासुर र दुर्गाभवानी बिच थिएन। दुर्गाभवानी पनि अरुको लागि लडिदिने निमित्त नायिका मात्र थिइन् जसले कमजोर पराजितहरुको पक्षमा लडेर उनीहरुलाई स्वतंत्रता दिलाई दिइन् अर्थात न्याय दिलाई दिइन्। विपरित लिङ्गी प्रतिको आकर्षण सबै प्राणीको स्वाभाविक गुण हो। रुपवती सुन्दरी युवतीको रुपमा पार्वतीलाई देखेर आकर्षित र आशक्त भई विवाहको प्रस्ताव राख्नु महिषासुरको अपराध थिएन। उनी राक्षसी स्वभावका भएको भए जबरजस्ती अपहरण गरेर लैजान पइनि सक्थे वा लैजाने प्रयास गर्न सक्थे। तर उनले त्यस्तो केहि गरेनन्। सम्राट महिषासुर वास्तवमै महान प्रेमी थिए जसले अल्प अवधिमै विकसित आफ्नो उत्कट प्रेमको खातिर शहादत प्राप्त गरे।

यस दृष्टिकोणले विजया दशमीको दिनलाई पराजित देवताहरुको मुक्ति दिवस र दुर्गाभवानीलाई तिनको मुक्तियुद्धकी नेतृ मान्नु पर्छ भने त्यसै दिनलाई विश्व ब्रम्हाण्ड एकीकरण कर्ता एवं तीन त्रिभुवन चौध लोकका अधिपति, महान प्रेमी, महाबली महिसाषुरको शहादत दिवस मान्नु पर्छ। विजया दशमीको पृष्ठभूमीलाई यसरी बुझ्दा र व्याख्या गर्दा नै कथाका पात्रहरु प्रति न्याय हुनेछ र पाठकहरुलाई एकोहोरो किसिमले पात्रहरु मध्ये एक थरीको अन्ध पक्षधर बन्ने अर्को पक्षको अन्ध विरोधी बन्ने खतराबाट बचाउन सकिन्छ भन्ने पंकथिकारको धारणा छ। अस्तु !!

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्