कस्ताे छ गुरुङ जातिको वंशावली ?

  • 2
    Shares
0

विभिन्न जातजातिमा ठूलो जात र सानो जातको भेद भए जस्तै धेरै पहिले गुरुङहरूमा पनि चारजाते ठूलो र सोह्र जाते सानो भन्ने प्रचलन रहेको थियो। तर कर्णेल लछमन गुरुङको उजुरीले श्री ३ जङ्ग बहादुर बाट वि.सं. १९२४ मा गुरुङहरूमा चार जात र सोह्र जातमा ठूलो सानो भन्ने नभएको फैसला भएको थियो। जसले गुरुङ समाजमा ठूलो जात र सानो जात भन्ने भावना मेट्न अहं भूमिका खेलेको थियो।

गुरुङहरूको वंशावलीहरू थुप्रै किसिमका भेटिन्छन्। क्ले कुगी, तथा सोगीहरूका छुट्टाछुट्टै वंशावलीहरू पाइन्छ। जसअनुसार कुगीलाई कश्यप गोत्र भनिएको छ, सोगीहरूलाई कन्नौज बुन्देलखण्डका भारद्वाज गोत्र भनिएको छ। तर, यहाँ राजा यशोब्रहम शाहका पण्डित भोजराजले तयार गरी पण्डित शिखरनाथ सुवेदीले प्रकाशित गरेको थर–गोत्र प्रश्नावली नामक पुस्तकमा प्रकाशित भएको वंशावली प्रस्तुत गरिएको छ। कुनै समयमा पिउठाना भन्ने ठाउँमा गोचन नामका भारद्वाज गोत्र सूर्यवंशी राजा थिए। राजा गोचनका लोचन र रोचन नामका दुई राजकुमार थिए । राजारानीका लागि कान्छा छोरा प्यारा थिए, त्यसैले गर्दा पिउठानाको राज्यभार राजा गोचनले जेठो छोरा लोचनलाई नदिई कान्छा छोरा रोचनलाई दिए। दाजु हुँदाहुँदै भाइले राज्य पाएपछि जेठो राजकुमार दिक्क हुनु स्वभाविकै थियो। यसरी भाइ राजगद्दीमा बसेपछि जेठाले देश छाडेर बाहिर जाने निधो गरे।

लोचनले देश छाडेर बाहिर जानलाग्दा काली नामकी उनकी पत्नी पनि पछि लागिन्। राजकुमारका साथमा पत्नी मात्र नभई उनका पुरोहित मुकुन्द लामिछानेका छोरा बलि लामिछाने र उनकी पत्नी काशीसमेत पछि लागे। उनको आठपहरिया (अङ्गरक्षक), केहरसिंह खवास (दास वा कमारो) तथा उनकी पत्नी पनि पछि लागे। राजकुमारले पिउठाना दरबार छोड्दा राजकुमारका साथमा उनी बाहेक पाँचजना साथी भए। यसरी देश छोडेर हिँडने राजकुमारले कुनै नयाँ राज्य खडा गर्ने विचार नगरेर हिमालयको काखमा गएर तपस्या गर्ने विचार गरे। उनीहरू यस प्रकार प्रस्थान गरेको केही दिन पछि बाटामा अत्यन्त सुन्दरी तरुनीहरूको जमातसित भेट भयो। तरुनीहरू सोह्रदेखि बीस बर्षका भित्रका थिए। यिनीहरूबाट राजकुमार अत्यन्त मोहित भएर केही समय उनीहरूसित विताउने विचार गरे। दुईरात उनीहरू सितै हाँसखेलमा वित्यो। तेस्रो रात पनि विताउने विचार भयो। तेस्रो रात विताएर ब्युँझदा त्यहाँ कुनै युवती थिएनन् र आफूसित भएको धनदौलत पनि थिएन।

यति मात्र होइन, राजकुमार र गुरूपुत्रको आङमा जनै पनि थिएन। जनै चोरिनुको अर्थ थियो – जात चोरिनु। सम्पत्तिका साथै जात पनि चोरी भएको हुँदा उनीहरू सार्‍है खिन्न भए। त्यसपछि उनीहरू हिमालयको काखमा रहेको एउटा नदीको किनारमा पुगेर त्यहीँको एउटा गुफामा बसे। राजकुमारकी पत्नीसित बाँकी भएका गहना बिक्री गरेर उनीहरू जीवनयापन गर्न थाले। यस्तो आपत्ति पर्दा पनि केहरसिंह खवासले आफ्नो कर्तव्य नछोडी सेवा गरेको हुँदा राजकुमार र बलि लामिछाने अत्यन्त प्रशन्न भए। यी दुवैजना मिलेर केहरसिंहलाई भने, “तैंले हाम्रो यस्तो अवस्थामा पनि आफ्नो कर्तव्य नछोडी सेवा गरिस्। तँदेखि हामी अत्यन्त प्रशन्न छौँ। हाम्रो जात गएको कुरा तँलाई सबै थाहा छ, त्यसकारण अबदेखि तँलाई खवास अर्थात कमारो भन्दैनौं। सबै कुरा थाहा पाएको हुँदा थापा भन्छौँ।

अबदेखि तँ थापा भइस्। हाम्रो पनि जात गइसकेको हुँदा तँ जस्तै भयौँ। युवतीहरूले हाम्रो जात चोरेर लगेको हुँदा हामीसित जात छैन। हामी सबै उस्तै भएपछि तैंले पकाएको भात खान अब हामीलाई कुनै आपत्ति छैन। त्यसकारण अब उप्रान्त तैंले पकाएको भात खान्छौँ, तैंले पकाएर खुवाउनू।” राजकुमार र गुरूपुत्रको यस्तो प्रस्तावबाट केहरसिंह खवास बडो अचम्ममा पर्‍यो र स्वीकार गर्न मानेन। तर, उनीहरूले धेरै सम्झाए पछि प्रस्ताव स्वीकार गरेर भात पकाएर खुवाउन थाल्यो। त्यस दिनदेखि यी सबै बराबर भए। सबै कुरा थाहा पाएको हुँदा केहरसिंह खवास (कमारो) बाट त्यसै दिनदेखि थापा भयो।

यस प्रकार हिमालयको काखमा जीवन व्यतीत भइरहेका समय पिउठानाका राजकुमार लोचनका तीन छोरा र दुई छोरी जन्मे। राजकुमारका छोराको नाम क्रमशः यस प्रकार रह्यो – घले, घोताने र लामा। यसै प्रकार छोरीको नाम थियो – लक्ष्मी र गौरी। यसै समय गुरूपुत्र बलि लामिछाने वा बलि आचार्यका पनि दुई छोरा र तीन छोरी जन्मे। पछि गएर यी बलिका छोराहरू क्रमशः आचार्य लामिछाने र प्लोने लामिछानेका नामले विख्यात भए। बलिका छोरीको नाम क्रमशः यस प्रकार थियो – कुमारी, नारी र मली। यी दुवै थरीका छोराछोरी ठूला भएपछि लोचन र बलिका छोराछोरीको आपसमा विवाह गरेर कुटुम्ब हुन पुगे। त्यसै समयदेखि यिनीहरूमा राजकुमारका पुत्र घले, घोताने र लामाका सन्तान त्यसै नामले प्रसिद्ध भएका हुँदा त्यही नामको थर पनि हुन गयो। गुरूपुत्रका सन्तान भने लामिछाने नामले वा थरले प्रसिद्ध भए।

यिनै घले, घोताने, लामा र लामिछाने चार जनाका सन्तती पछि गएर चार जात कहलाए। तपस्या गरेका समयमा जन्मेका हुँदा यिनीहरूलाई लोकले महागुरु भन्ने पदवी दियो र त्यसैको अपभ्रंश रूपमा महागुरुङ भयो। हुँदाहुँदै महा पनि भन्न छोडियो र गुरुङ मात्र बाँकी रहन गयो, जो आज पनि त्यही नामले प्रसिद्ध छ। उनीहरूको खवास केहरसिंह थापाले त्यहाँ गएपछि एउटी अर्की श्रीमती पनि थपेको थियो। भनाइको तात्पर्य हो उसका दुई स्त्री थिए। दुवै स्वास्नीका तर्पmबाट जम्मा सोह्र भाइ छोरा र दस बहिनी छोरी भए। छोरीका नामको कतै उल्लेख छैन। केहरसिंह थापाका छोराहरूको नाम क्रमशः यस प्रकार थियो – पग्यु, डोर, केप्चै, कोचै, ध्यावृङ्ग, दोचै, प्रचै, थिचै, योचै, खलाल, भयचै, कोके, कुपचै, नानन्चौ, लेगै र रूपचै। राजकुमारको खवास केहरसिंह खवासबाट थापा भए पछि यी छोरा जन्मेका हुँदा सबैका नामका पछाडि थापा पदवी पनि लाग्यो। यी थापाका सन्तति विभिन्न ठाउँमा गएर बसे र त्यस पछि तिनै नामले एक एक वंश त्यही नामधारी गुरुङमा परिणत भएको हुँदा सोह्र जातका गुरुङ कहलाए।

रहँदाबस्ता यिनीहरूको आपसमा विहेवारी चल्यो र जताततै फैलिन पुगे। जुन समय यिनीहरू हिमालयको काखमा थिए, त्यसै समय सोह्र भाइ मध्येको नानचै थापाले चार भाइ मध्येको घोताने महागुरुङकी मर्फी नाम गरेकी छोरीसित अनुचित सम्बन्ध स्थापित गर्‍यो। खवासको सन्तान नानचै थापाले मालिककी नातिनीसित अनुचित यौन सम्बन्ध राखेको हुँदा त्यहाँका चार जातका गुरुङहरू मिलेर नानचै थापालाई तरबारले काट्ने विचार गरे। यसै समय सोह्र जातका गुरुङ जम्मा भएर चार जातका गुरुङहरूसित माफी माग्दै भने – “यसले चार जातकी छोरी अर्थात् मालिककी चेलीमा हात नहाल्नुपर्ने हो हाल्यो, त्यो यसको भूल हो, हामी पनि मान्छौं। तर जो नहुनु थियो, त्यो भइसक्यो। त्यसकारण यसलाई माफी हुनु पर्दछ। उसका तर्फबाट हामी माफी माग्दछौं र ऊ पनि माफी माग्दछ। यसलाई जीवन दान दिनुहोस्।”

यसमा उनीहरूले अझै विनयसाथ भने – “हामी खवासका सन्तान हौं, हामी सोह्र भाइका सन्तान दरसन्तानले चारभाइका सन्तान दरसन्तानका सामने शिर झारौँला। त्यति मात्र होइन चारभाइका सन्तानको जाबी बोकेर पछि लागौँला र जो परेको सेवा टहल गरौँला। चार भाइका सन्तानले अर्थात् चार जातका सन्तानले विवाह गर्दा जो परेको काम गरौँला र नेक, दैदस्तुर खाउँला। हाम्रो भैयादलाई नमार्नुहोस्।” चार जातले नानचै थापालाई राजकुमार लोचन र बलि आचार्य वा लामिछानेका समिप पुर्‍याए। यो कुरा केहरसिंह थापालाई पनि सुनाए र सबैको संयुक्त सभा बस्यो। नानचै थापाले ज्यान माफी पायो। यस्तो घटना बराबर घट्न सक्ने हुँदा उनीहरूले एउटा नियम बनाए।

चारभाइमा राजपुत्र र गुरुपुत्र भएका हुँदा यी मालिक हुन्। सोह्र भाइ भनेका खवासका सन्तान हुन्। त्यसकारण अहिले जे भयो – भयो, अब उपरान्त चार जात र सोह्र जातको विवाह नगर्नू। चार जातका सन्तानले सोह्र जातका सन्तानकी छोरी – चेली ल्यायो भने बात पनि लाग्दैन। यदि सोह्र भाइका सन्तानले चार भाइका सन्तानकी छोरी चेली ल्यायो भने त्यसको सन्तान खवास हुने हुँदा बात लाग्दछ। यसरी लागेको बातलाई १६ रुपियाँ तिरेर फुकाउनू भन्ने अर्को नियम पनि बनाए। त्यसै नियमका कारणले गर्दा गुरुङहरूमा सोह्र जातका गुरुङले चार जातकी गुरुङकी छोरी विवाह गर्दा सोह्र रुपियाँ दस्तुर बुझाउनुपर्ने नियम चलेको मानिन्छ।

Comments
Loading...
You might also like