सभामूख निर्वाचन : शिवमायाले राजीनामा नदिए के हुन्छ ?

shivamaya-tumbahamphe
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २५ पुस। उपसभामूख शिवमाया तुम्बाहङफेले राजीनामा दिन अस्वीकार गरेकी छिन्।प्रधामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले राजीनामा दिन गरेको आग्रहलाई उपसभामूख शिवमाया तुम्बाहङफेले अस्वीकार गरेकी हुन्।

शुक्रबार दिउँसो नेकपाका दुई अध्यक्षले उपसभामूख तुम्बाहाङफेसँग प्रधानमन्त्री निवास बालुवाटार छलफल गरेका थिए। सो क्रममा दुबै जनाले पदबाट राजीनामा दिएर सभामूख निर्वाचनको बाटो खोलिदिन तुम्बाहाङफेलाई आग्रह गरेका थिए।

जवाफमा तुम्बाहाङफेले आफू सभामूखका लागि अयोग्य हुनुको कारण खोजेकी थिइन्। सभामूखका लागि योग्य नठहर्‍याए आफूलाई उपसभामूखमै रहन दिनसमेत उनले दुई अध्यक्षलाई आग्रह गरेकी थिइन्।

उपसभामुखको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ’पुस २७ गते सभामूख निर्वाचनको प्रक्रिया अगाडि बढ्छ। तपाईंहरू जे गर्नुहुन्छ गर्नुस्। मलाई हटाउने हो भने संविधानको व्यवस्थाअनुसार हटाउनुस्।’  यसैबीच सभामूख निर्वाचनकै विषयमा छलफल गर्न नेकपाले शनिबार ४ बजे सचिवालय बैठक बोलाएको छ।

उपसभामूखले राजीनामा नदिए के हुन्छ ?

संविधानमा उपसभामूखले आफैंले राजीनामा नदिएमा महाभियोग लगाएरमात्रै हटाउन सकिने व्यवस्था छ।उपसभामूखले राजीनामा नदिई सभामूखको निर्वाचन प्रक्रिया अगाडि बढाए संविधानअनुसार नेकपाले सभामूखमा दाबी गर्न मिल्दैन।

एउटै पार्टीबाट सभामूख र उपसभामूख हुन नपाइने भएकाले नेकपाले सभामूखको दाबी गर्न तुम्बाहाङफेले राजीनामा दिनुपर्छ। त्यसपछि संसदका जेष्ठ सदस्यले सभामूख निर्वाचनको प्रक्रिया अगाडि बढाउने बाटो खुल्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्