कसरी बन्ने असल र कुशल कर्मचारी ?

karmachaari
नेपाल द्रुत आर्थिक विकासको आकांक्षामा दौडिरहेको छ। द्रुत आर्थिक विकासका लागि प्रशासनिक दक्षता र व्यवस्थापकीय कुशलता महत्त्वपूर्ण पक्षको रूपमा रहन्छ।
लोकपाटी न्यूज
0 Shares
  • समाधान नेपाल

काठमाडौं। नेपाल द्रुत आर्थिक विकासको आकांक्षामा दौडिरहेको छ। द्रुत आर्थिक विकासका लागि प्रशासनिक दक्षता र व्यवस्थापकीय कुशलता महत्त्वपूर्ण पक्षको रूपमा रहन्छ। यसका लागि संगठनले तय गरेका उद्देश्यहरू पूरा गर्न महत्त्वपूर्ण भूमिका रहने बहुआयामिक विशेषता बोकेको मानव स्रोतलाई सही परिचालन गर्नु अत्यावश्यक छ। संगठनका अन्य साधन तथा स्रोतलाई समेत सञ्चालन गर्ने स्रोत मानव स्रोत भएकोले यसको परिचालनमा समय सान्दर्भिक नीतिको निर्माण तथा कार्य संस्कृतिको विकास गरिनुपर्छ।

संगठनको विकासमा नीति, नेतृत्व, संरचना र कार्य पद्धतिको उपयुक्त संयोजन तथा समन्वय रहनुपर्दछ। संगठनको विकास र मुख्यतः नेतृत्वले विशेष संयोजनकारी भूमिका खेलिरहेको हुन्छ। नेतृत्वले नीति निर्माण गर्ने, सोही बमोजिम सांगठनिक संरचना र कार्यपद्धतिको विकास गर्ने, सुहाउँदो व्यवस्थापकीय संस्कृतिको प्रयोग र विकास गर्ने, त्यस मार्फत उत्तम कार्यदक्षता हासिल गरी सबै सरोकार पक्षको हित अभिवृद्धिमा केन्द्रित हुनुपर्दछ ।

यस छोटो विश्लेषणात्मक लेखमा व्यवस्थापकीय संस्कृति र मनोवैज्ञानिक पक्षले कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धिमा पार्ने प्रभावको बारेमा विशेष चर्चा गरिएको छ। मानव आफैमा बहुआयामिक, बहुपरिवर्तनशील, बहुपक्षीय प्रभावमा आफ्नो सोच, मनस्थिति र व्यवहारलाई आकृत गरिरहने भएकोले यसको परिचालन र व्यवस्थापनमा निम्न बमोजिम विशेष सजगता र सृजनशीलता अपनाउनु अपरिहार्य हुन्छ।

१. कर्मचारीमा कार्यप्रतिको स्वइच्छा (Willingness) सृजना तथा विकास गर्ने

असल व्यवस्थापकीय सिप र अभ्यासबाट सबै कर्मचारीहरूलाई आफ्नो कार्य तथा जिम्मेवारीप्रति पूर्ण बहन गराउन व्यवस्थापक तथा नेतृत्वले कर्मचारीमा कार्यप्रतिको स्वइच्छा (Willingness) सृजना तथा विकास गर्ने व्यवस्थापकीय संस्कृति निर्माण गर्नुपर्दछ। कसैले भनेर गरेको काम, वा कसैले जबरजस्त लादेर गरेको काम, वा कसैले ठाडो निर्देशको भरमा गरेको काम, या कसैको बलजफ्तिमा गरेको काम वा इच्छा विपरीत गराइएको काम लगायत कार्य वातावरण जबरजस्ती निर्माण गरी गराएको कामले खासै उत्पादकत्व दिँदैन।

व्यवस्थापक वा नेतृत्वले जहिले पनि कर्मचारीहरूको विशिष्ट ज्ञान, सिप र विवेकलाई ध्यान दिई कार्यप्रति स्वइच्छा (Willingness) सृजना गराउन विभिन्न मनोवैज्ञानिक तथा व्यवस्थापकीय खुबीहरूको विकास र प्रयोग गर्न सक्नुपर्दछ। यदि स्वेच्छा (Willingness) सृजना गराउन सकिएन भने कर्मचारीहरूमा कार्यप्रति यथेष्ट उत्पन्न हुने , तनाव हुने, कर्मचारीहरूको मनोबल खस्कने र समग्र उत्पादकत्वमा नकारात्मक असर पर्न जाने हुन्छ। यसर्थ परिमाण वा Quantity मात्रले कार्य उत्पादकत्व हुँदैन, न सेवा सुविधा नै यथेष्ट भएर मात्र कार्य दक्षता हुनेछ, यो त मनोवैज्ञानिक पक्ष पनि हो। तसर्थ, कर्मचारीहरूको उच्च मनोबल कायम गर्दा उत्पादकत्व सम्भव हुन जान्छ।

कर्मचारीको उच्च मनोबल स्थापित गर्न व्यवस्थापकीय संस्कृतिमा परिवर्तन ल्याउनुपर्दछ। यसर्थ, कर्मचारीहरूमा उच्च मनोबलको विकास गरी कार्यप्रति स्वइच्छा (Willingness) निर्माण गर्ने गरी व्यवस्थापक वा नेतृत्वले भूमिका खेल्नुपर्दछ।

२. कर्मचारीहरूमा रचनात्मक स्व उत्प्रेरणा विकास गराउने

वर्तमान मानव स्रोत पूर्ण सूचना तथा जानकारी सहित यथेष्ट ज्ञान र विवेक तथा सिपले भरिपूर्ण छ। यसर्थ उनीहरूको खुबी प्रयोगमा ल्याउन बाह्य त्रास वा अनावश्यक आस उत्पन्न गराउने भन्दा पनि उनीहरूलाई रचनात्मक स्व उत्प्रेरणा विकास गराउने व्यवस्थापकीय सिप र खुबी आवश्यक छ। नेतृत्वको व्यवहारले कार्य संस्कृतिलाई महत्त्वपूर्ण असर पुर्‍याउँदछ। नेपालको सन्दर्भमा मुख्यतः नेतृत्वले असल व्यवस्थापकीय गुण, सिप र अभ्यासका बारेमा सैद्धान्तिक ज्ञानहरू यथेष्ट हासिल नगरेको पनि होइन तथापि यसको व्यवहारिक तथा रचनात्मक रूपमा प्रयोग गर्न भने हालसम्म चुकेको स्थिति छ। यसर्थ, कर्मचारीको स्वउत्प्रेरणा कसरी हासिल गर्न सकिन्छ भन्ने कोणबाट व्यवस्थापक तथा नेतृत्वले सोच्नु र सोही बमोजिम कार्य वातावरण निर्माण गरिनुले संगठनमा कार्य उत्पादकत्व गर्न मद्दत पुर्‍याउँछ।

३. सहभागितामूलक व्यवस्थापकीय संस्कृतिको विकास गर्ने

हामी सबैले मनन गर्नुपर्ने पद, पैसा, प्रतिष्ठा, पावर समय सन्दर्भगत मात्र हुन र यिनले हामीलाई जीविका र व्यक्तिगत उन्नयकाे लागि केही भूमिका खेलेका छन् र यी हाम्रा मृते सम्मको यात्राका केही सारथिहरू मात्र हुन भन्ने मनस्थितिको विकास हुनुपर्दछ। यिनैका लागि मरिहत्या गर्ने, जसरी पनि यिनलाई प्राप्ति गर्न जस्तो सुकै भूमिका पनि निर्वाह गर्ने र प्राप्ति पश्चात् हदैसम्मको घमण्ड, पदीय अंहकार का साथ अन्य सबै कुराहरूलाई गौण बनाइ पद नै सवैथाेक हो भन्ने मानसिकता निर्माण गर्ने प्रचलन अत्यन्त घातक छ।

त्यस्तै, थप सोही अनुसार कामकारबाही तथा व्यवहार गर्नुले कार्य उत्प्रेरणा खस्कन जाने, नेतृत्व असफल हुने र समग्र सांगठनिक संस्कृति बिग्रँदै संस्था धराशायी बन्न जान्छ। कर्मचारी कार्य दक्षता अभिवृद्धि गर्ने नाममा माथिल्लो पदले विशेष आग्रह तथा पूर्वाग्रहका साथ कर्मचारीतन्त्रिय आदेश र निर्देशन गर्ने, म पद हुँ, म पावर हुँ, र मेरो काम निर्देशन जारी गर्ने हो, अरू विवेकहीन कामदारहरू हुन उनीहरूले जसरी पनि मैले भनेको मान्नै पर्छ, मैले बोलेको कानुन हो , अरूले मान्नै पर्छ, यदि आदेश मानेन या मलाई निको ठानेन भने मैले बदला लिनु नै पर्छ जस्ता मानसिकता तथा परिपाटी हालसम्म हट्न सकेको छैन।

यी व्यवहारहरू सबै आउटडेटेड व्यवस्थापकीय अभ्यास हुन। व्यवस्थापकीय परिपाटी उन्नाइस सौं शताब्दीकै अवलम्बन गरी एकाइसाै शताब्दीको कार्य प्रतिफल प्राप्त गर्न सकिँदैन। यसर्थ, पदसाेपानीक सांगठनिक संरचना भएता पनि निश्चित हदसम्म पदीय दुरी र सन्तुलन कायम गर्दै सबैको आत्मसम्मानमा ठेस नपुग्ने गरी सहभागितामूलक व्यवस्थापकीय संस्कृतिको विकासमा व्यवस्थापक वा नेतृत्वले विशेष ध्यान पुर्‍याउनु पर्दछ।

४. मानवीय तथा सामाजिक पेसागत व्यवहार र संस्कृति निर्माण गर्ने

सर्वप्रथम प्राकृतिक रूपमा हामी आफैले आफैलाई मनन गराैं। हामी धेरै प्राविधिक बनेका र बनाइएका छौं। हामीले पेसागत जीवनमा मानवीय र सामाजिक भएर सोच्न सकिरहेका छैनौं। हामी पदीय रूपमा एक अर्कालाई गरिने व्यवहार छुद्र हुनुहुँदैन। व्यवस्थापक तथा नेतृत्वले मानवीय भएर जुनियरसँग व्यवहार गर्न सिक्नुपर्दछ। यो मानवीय सम्बन्धले हामी नेतृत्वलाई सदैव सम्मानित बनाइरहन्छ।

यदि प्राविधिक रूपमा अर्थात् पदीय हिसाबले मात्र सम्बन्ध विकास गर्नाले सम्बन्ध दिगो र सम्मानित नबनाउन सक्छ। जब पद बाट टाढा रहन्छौ तब हामीमा अनुभूति आउन सक्छ। यसर्थ भनिन्छ नि, जीवन नियमले मात्र चल्दैन, यो त व्यवहारले महत्त्वपूर्ण भूमिका खेल्दछ। हामी व्यवस्थापक वा नेतृत्वको हिसाबले विषयवस्तुलाई मानवीय तथा सामाजिक रूपमा अनि प्राकृतिक रूपमा समेत मनन गर्ने तथा सोही बमोजिम पेसागत व्यवहार र संस्कृति निर्माण गर्न सकेमा कार्य उत्प्रेरणा भई सांगठनिक उत्पादकत्व हुन सक्छ।

५. कर्मचारीहरूको विश्लेषण तथा परिचालनमा विशेष ध्यान दिने

कर्मचारीलाई सही परिचालन गर्नु भनेको उसको विशेष रुचि, सोच, क्षमता, धारणा, कुशलता तथा खुबी बमोजिमको कार्य बाँडफाँड तथा जिम्मेवारी सुम्पनु नै हो। समयको माग अनुसार व्यक्तिको रुचि र खुबीलाई मिलान गरी जिम्मेवारी दिनु महत्त्वपूर्ण पक्ष हो। यसै गरी सङ्गठनको उद्देश्य बमोजिमका कार्य पूरा गर्न उपलब्ध मानव स्रोतलाई आवश्यकता अनुसार विकास गर्नु तथा उत्प्रेरित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। विभिन्न किसिमका तालिम तथा सिप विकास, विशेष सेवा सुविधा मार्फत समेत कर्मचारीहरूलाई उत्प्रेरित गरी कार्य उत्पादकत्व गर्न सकिन्छ।

६ टिम वर्क व्यवस्थापकीय संस्कृतिको निर्माण गरौँ

कर्मचारीहरूको क्षमता उजागर गर्ने र कर्मचारीहरूको खुबी विश्लेषण गरी प्रयोग गर्ने कार्य वातावरण निर्माण गर्न सक्नुपर्दछ। टिमवर्ककाे वकालत गर्ने तर राम्रो परिणामको जस जति नेतृत्व आफैले मात्र ग्रहण गर्ने परिपाटी अत्यन्त हानिकारक छ। सबैका सम्भावना र प्रतिभाहरूलाई कार्य उत्पादकत्व सँग जोडी कार्य सम्पादनमा सबैको सहभागिता र सम्मानमा व्यवस्थापक विशेष चनाखो बन्नुपर्दछ। व्यवस्थापकीय छुद्रता र अहमताले कार्य उत्पादकत्व कहिले गर्न सक्दैन। टिम वर्क व्यवस्थापकीय संस्कृति, सहभागितामूलक व्यवस्थापकीय अभ्यास, मानवीय तथा सामाजिक व्यवस्थापकीय खुबीहरूको प्रयोग र विकासले संगठनकाे उत्पादकत्व हुने कुरालाई सबै नेतृत्व वा व्यवस्थापकले मनन तथा व्यवहारिक प्रयोग गर्न आवश्यक छ।

https://professionalefficiency.blogspot.com/ बाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्