ब्लग

राष्ट्रवादी कमरेडहरु, महाकालीको गल्ती स्वीकार्नु पर्दैन ?

Kp oli birthday
राष्ट्रवादको अनौठो प्रदर्शनमा उहाँ रमाइरहनुभएको छ। राष्ट्रघाती महाकाली सन्धि गर्दा उहाँको राष्ट्रवादको आँखाले किन काम गरेन ? आज पनि त्यो गम्भिर राष्ट्रघात थियो भनेर उहाँको अन्तरहृदयले स्वीकार्न किन सकिरहेको छैन ?
  • 1.5K
    Shares

श्रीकृष्ण अधिकारी ‘विवेक’

हिजो निरंकुश राजतन्त्रको बेला राजनीतिक पार्टीहरूमाथि प्रतिबन्ध लगाएको अवस्था थियो। राजाको निरंकुश अत्याचारले सीमा नाघ्दै गइरहेको थियो। पञ्चहरू, जनता र देशको हकहित बोल्नेहरू, खासगरि कम्युनिष्टहरूलाई विदेशबाट परिचालित ‘अराष्ट्रिय तत्व’हरू भन्थे। राजा महाराजाहरू र पञ्चहरूको महिमामण्डन गर्न भजन मण्डली तयारी गरी जयजयकार गर्न लगाइन्थ्यो। निरंकुश सामन्ती अत्याचारले सिमा नाघ्दै गइरहेको थियो जनता उकुसमुकुस भएर असन्तोष र विद्रोहको चेतना भुसको आगोझैं भित्रभित्रै फैलिँदै गइरहेको थियो। मठ, मन्दिर गल्ली चोकतिर मण्डलेहरू साना–साना झुण्डमा राजाको जयजयकार हिडिरहेको देखिन्थ्यो। राजा विना राष्ट्र रहँदैन, नेपाली भन्न पाइँदैन, आदि भन्दै विद्यार्थी मण्डलका नाममा राजभक्त झुण्ड हिडेको देखिन्थ्यो।

राष्ट्रियताको सवालमा राजा स्वयं कति काँचो थिए भन्ने कुरा राजा त्रिभुवनको पालादेखि नै प्रष्ट  देखिन्छ। राष्ट्रियताको सवालमा हामी प्रष्टसँग देख्न सक्छौं भीमसेन थापादेखि मदन भण्डारी, राजा वीरेन्द्र र पछिल्लो चरणमा कमरेड प्रचण्डसम्म अध्ययन गर्नुपर्ने हुन्छ। भीमसेन थापादेखि कमरेड मदन भण्डारी र राजा वीरेन्द्रको परिवारसम्म  स्वतन्त्र कालगतिले मर्न पाएनन्। हेरौं, प्रचण्डलाई आजीवन बाँचेर कालगतिले मर्न दिन्छन् कि दिँदैनन् ? जनताले कमरेड प्रचण्डलाई बचाउन सकेको अवस्थामा नेपालको राष्ट्रियता बच्छ, राष्ट्रिय स्वाधीनता सुदृढ हुन्छ। यो मेरो व्यक्तिगत विश्वास हो।

shreekrishna adhikari

त्रिभुवनकै पालामा नेपालको उत्तरी खण्ड चिनियाँ नाकाको विभिन्न स्थानमा भारतीय सेना तैनाथ भएको इतिहास छ। त्यसमध्ये कालापानीमा भारतीय सेनाले क्याम्प खडा गरी बसेको थियो र आजका मितिसम्म पनि भारतीय सेना कालापानी क्षेत्रमा तैनाथ छ। नेपालको उत्तरी खण्ड पूर्वदेखि मध्य पश्चिमसम्मका विभिन्न ठाउँबाट भारतीय सेना फिर्ता हुँदै गयो। तर, कालापानीबाट भारतीय सेना हट्न मानेन। राजा महेन्द्र कालापानीबाट भारतीय सेना नहटाउने निर्णयमा पुग्न बाध्य भए। त्यसको ढाकछोप गर्न चीनले नेपाललाई गरेको सहयोगलाई आधार बनाएर उनले चर्को राष्ट्रवादको वकालत गरे र महेन्द्र राष्ट्रवादको चर्को महिमा मन्डित गरियो।

आधार र पृष्ठभूमि केही नचाहिने एकतिरबाट हल्ला चलेपछि बोलीमा लोली मिलाउने नेपाली बानीका कारण राजा महेन्द्र राष्ट्रवादी नेता बने। उनको आन्तरिक स्वविवेकले राष्ट्रप्रति बफादार हुने भन्दा पनि बाह्य परिस्थितिले उनलाई प्रखर राष्ट्रवादी राजा बनाइदियो र त्यसको भरपुर प्रयोग उनले गरे। हेटौंडा कपडा कारखाना, विराटनगर जुट मिल, जनकपुर चुरोट, बाँसबारी छाला जुत्ता कारखाना, ट्रलि बस, हेटौंडा रोपवे चीनले बनाइदियो, लाभ उनले र्लि। यसरी उनी नेपालीहरूको नजरमा सच्चा राष्ट्रवादी बने। उनीभित्रको अन्तरकथा अर्कै थियो। सामन्ती नश्ल जीवनमा रमाउनेहरूले राजा महेन्द्र राष्ट्रवादको मात्र होइन, भीमसेन थापादेखि मदन भण्डारीसम्मको खुबै चर्चा गरेको सुनिन्छ। तर, आचरणमा भीमसेन थापादेखि मदन भण्डारीसम्मको व्यवहारलाई पछ्याएको कहिल्यै देख्न पाइँदैन। अतः उनीहरू यसरी भ्रम पार्न सफल भए।

अहिले कमरेड प्रचण्डको विशेष हुटहुटीमा नेकपाको सचिवालय सदस्य आदरणीय कमरेडहरूको पार्टी सचिवालय बैठकमा प्रेसर गरी सरकारले प्रकाशन गरेको कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्सा राजाकै पालामा २०३२ यता गायव थियो। जंगबहादुर राणाको इतिहास हामीले पढेकै छौं। उनी इष्टइण्डिया कम्पनी अर्थात् बेलायतका गुलामजस्तै थिए। नेपालबाट ब्रिटिस भर्ती उनकै पालादेखि खुलेको हो। जंगबहादुर राणाले बेलायतलाई रिझाएवापत नेपालको नयाँ मुलुक बाँके, बर्दिया, कैलाली, कञ्चनपुर प्राप्त भएको थियो।

त्रिभुवन राजाकै पालामा महाकालीमा भारतीय सेनाले क्याम्प खडा गरी बसेको थियो। राजाकै पालामा नेपालको नक्सा कालापानी लिपुलेक लिम्पियाधुराको भाग गायव भएको थियो। राणा र राजा, महाराजाहरूको सामन्ती दम्भ, घमण्ड र अहंकारका कारण सामन्ती अधिनायकत्ववादी राजतन्त्रको हुकुमी शासन पतन भयो। हामीले राजतन्त्र फाल्यौं, संघीय गणतन्त्र स्थापना भयो। नयाँ संविधान बन्यो। तर, संरचाना बदल्लिएर मात्र पुग्दो र रहेनछ। संरचनासँगै मूख्यतः हाम्रो प्रवृत्ति बदलिनुपर्दो रहेछ। आज हाम्रो नेतृत्वमा हिजोको त्यही पुरानै प्रवृत्ति र शैलीको पुनरावृत्ति भएर  संरचना र आवश्यकता नयाँ चिन्तन र शैली पुरानो भएर उल्टो दिशा बगिरहेको त छैन ? यो नेतृत्व स्वयंले आत्मसमीक्षा गर्नुपर्ने विषय हो। तर, नेतृत्वमा त्यो आत्मबोधको छनक देखिँदैन।

हामी मल्टिपार्टी सिस्टममा छौं। हाम्रो पार्टी विधानले लोकतान्त्रिक जनवादी पद्धतिको परिभाषित गरेको छ। व्यक्ति पार्टी अधिनस्थ हुन्छ। नेतृत्व पार्टी विधान अधिनस्थ हुन्छ। नेता पार्टीको संस्थागत निर्णय प्रणालीबाट चल्नुपर्छ। पार्टी अध्यक्ष् नेकपाको अन्तरिम अधिवेशनले बनाएको हो र उहाँ नेकपाको विधानभित्र चल्नुपर्छ भन्ने सार्मभौम सत्य स्वीकार्न सक्नु हुन्न। प्रधानमन्त्री पार्टीले बनाएको भन्ने कुरा एकथरि साथीहरू मान्न तयार देखिँदैनन्।

प्रधानमन्त्रीज्यू आफू देशभक्त हो, अरू देशद्रोही भन्ने भ्रमको अहंकारमा डुबुल्की मार्दै हुनुहुन्छ। आफू पदमा रहे देश रहन्छ, आफू पदमा नरहे देश रहन्न भन्ने अहमतामा समय व्यतित गरिरहनुभएको छ। आफ्नो गुटीय भजनमण्डलीलाई सडकमा उतारेर राष्ट्रवादको अनौठो प्रदर्शनमा उहाँ रमाइरहनुभएको छ। राष्ट्रघाती महाकाली सन्धि गर्दा उहाँको राष्ट्रवादको आँखाले किन काम गरेन ? आज पनि त्यो गम्भिर राष्ट्रघात थियो भनेर उहाँको अन्तरहृदयले स्वीकार्न किन सकिरहेको छैन ? कालापानीमा भारतीय सेनाले क्याम्प खडा गरी बसेको ५९ वर्ष भयो, भारतीय सेना हटाउने विषयमा उहाँ सांसद, मन्त्री र पहिलोपल्ट प्रधानमन्त्री हुँदा कति पहल गर्नुभयो ? खुलेर बोलेको कुरा त कतै सुनिएको छैन।

नक्सा प्रकाशनको आन्तरिक किस्सा के थियो त्यो, झलनाथ कमरेडले बाहिर सार्वजनिक मिडियामा प्रष्ट सुनाउनुभएकै छ। एससीसी सम्झौता अनुमोदन गर्न महाकाली सन्धि गर्न हतारिएकै जस्तो उहाँ हतारिनु भएको देखिएकै छ। पार्टी सचिवालयको जोडमा सरकारले नक्सा प्रकाशन ग¥यो, सामूहिक प्रयासको प्रतिफलमा नक्सा आयो, राम्रो भयो। नेतृत्वमा लोकतान्त्रिक चरित्र हुनुपर्छ, नेतृत्व पार्टीको संस्थागत प्रणालीबाट चल्नुपर्छ, नेतृत्व पार्टी मातहत बसेर पार्टीको विधि, विधान निर्णय अनुसार काम गर्नुपर्छ।

आधारभूत श्रमजीवी जनताले आर्थिक, सामाजिक र साँस्कृतिक रूपान्तरणको अनुभूत गर्न पाउने गरी सरकारका काम कार्वाही सुधार्नुपर्छ। आभाष हुने गरी सुशासन कायम गर्नुपर्छ भन्दा उहाँ १८० डिग्रीको फन्को मारेर ‘मैले रामराज्य बनाइसके’ भने जसरी झम्टिरहनुभएको छ। दोषको भारी पार्टीलाई बोकाएर पानीमाथिको ओभानो भएर स्तुतिगानमा रमाइरहनुभएको छ। अरूलाई ‘देशद्रोही’को बिल्ला भिराउन भजन किर्तन मण्डली सडकमा उतारेर दुनियाँ हसाउन तमासा देखाइरहनुभएको छ। ‘जो अगुवा उहीँ ….’ भएपछि अरूले सिक्ने कुरा चाहिँ के होला ? विधि आफै, विधान आफै, मेरो वाक्य नै निर्णय हो, त्यसमा अरूले मत राख्न पाउँदैन भने जसरी पार्टी भन्दामाथि आफूलाई राख्ने, म पदमा भइनँ भने त राष्ट्र नै रहँदैन, पार्टी नै रहँदैन भन्ने अतिरञ्जनापूर्ण सोचमा बढोत्तरी आइरहेको छ।

उहाँ सिङ्गो पार्टीको लिडरसिपको सामूहिक टिमवद्व एकता र जनताको एकताबिना ब्यक्ति पूजावादको एक्लो वीरको प्रशंसा स्तुतिगनमा रमाइरहनुभएको छ। आफू मात्र राट्रवादी अरू राष्ट्रघाती भनेर धारेहात लगाउँदै पार्टी एकता भाँड्न उद्वत देखिन्छ। आफूले आफैलाई महामण्डित गराएको जस्तो कालापानीबाट भारतीय फौज हटाएर नेपाली भूमि फिर्ता ल्याएर कामको असली राष्ट्रवादी बन्न सिङ्गो पार्टी राष्ट्रको एकतावध्द बल बिना सम्भव  छैन। हामीले हिजो मण्डले राष्ट्रवाद र लेण्डुपे प्रजातन्त्रको विरोध गरेर आयौं। हामीलाई कामको राष्ट्रवाद चाहिएको छ। कामको राष्ट्रवाद पार्टी विचारको सामूहिक प्रतिवद्धता, सिङ्गो पाटीको संस्थागत साझा पहल, प्रतिवद्धता र जनताको एकतामा मात्र पैदा हुन्छ।

पार्टीभन्दा ठूलो व्यक्ति हुन्छ भन्ने विधानविरोधी सोच स्तुतिगानको सडक प्रदर्शनलाई प्रोत्साहनगर्नु अराजकतालाई प्रसय दिनु हो। जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित पार्टीको आफ्नै स्वतन्त्र जनवादी संगठनात्मक प्रणाली छ। त्यसको फ्रेमभित्र अटाउन नचाहने नेतालाई पार्टी नेतृत्व मानिरहनुको अर्थ पार्टी आन्तरिक जीवन प्रणालीलाई नष्ट पारिदिनु हुन्छ। नेकपाको विधान, विधि, संगठन प्रणालीभित्र रहेर सामूहिक संस्थागत निर्णय प्रकियाबाट समस्याको समाधान खोज्नुपर्छ। विधिको शासनको रखवाला हुनका लागि नेतृत्व विधिको पालक हुनुपर्छ। पार्टी आदरणीय अध्यक्षद्वय कमरेड स्थायी समिति बैठकमा बस्नुपर्छ।

स्थायी समिति र केन्द्रीय कमीटीको बैठकबाटै समस्याको निकास खोज्नुपर्छ। पार्टी काम, सरकारको समीक्षाबाट अहिले परेको समस्याको गाँठो जहाँनेर हो, बैठकमा सामूहिक छलफलबाट त्यो गाँठो फुकाउन पर्छ। इच्छाशक्ति, चाहना भयो भने  गाँठो फुक्छ, निकास भेटिन्छ, समस्या सुल्झिन्छ। बैठकले निकाल्ने निष्कर्ष, निर्णय मानेर समस्याको निकास दिने साहस नेतामा हुनुपर्छ। पार्टीले दुई पदमध्ये एक त्याग  गर्न भन्यो भने प्रधानमन्त्रीले निसर्त त्याग गरेर मार्गप्रशस्त गर्दै आफूभित्र जनवादी लोकतान्त्रिक चरित्र छ भन्ने पार्टी र जनतामा साबित गर्न सक्नुपर्छ। रूपान्तरणसहित सुदृढ एकताको सन्देश दिनुपर्छ। फुटमा जीवन छ भनेर कसैले बुझेको छ भने महाभुल हुन्छ। जनताले त्यसलाई तिरस्कार र घृणा मात्र गर्छ। ब्यक्ति होइन, विधि मानौं। निजी आदेशमा होइन, संस्थागत निर्णयको आदेश पालना गरौं।  रूपान्तरणसहितको एकताको उत्तम बिकल्प रोजौं।

लेखकको बारेमा

लाेकपाटी न्यूज