सरकार

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाऔं : राष्ट्रपति

bidhyadevi bhandari
  • 7
    Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयका पदाधिकारीसँग मनसुनजन्य विपद्को सामनाका लागि पूर्वतयारी तथा बाढी, पहिरो र डुबानबाट भएका क्षति एवं प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कामबारे चासो व्यक्त गरेकी छिन्।

मन्त्रालयका सचिव महेश्वर न्यौपाने, मन्त्रालयअन्तर्गतको विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलसहितको टोलीसँग राष्ट्रपति कार्यालयमा भएको भेटमा राष्ट्रपतिले प्रकोप जोखिम न्यूनीकरणका लागि सरोकार निकायसँगको समन्वयमा आवश्यक प्रविधि र उपकरणको समुचित प्रबन्ध गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी हुन्।

उनले दिगो विकासलाई ख्याल नगरी प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले पनि प्राकृतिक विपद्को जोखिमलाई बढाएको उल्लेख गर्दै सम्बन्धित विशिष्टीकृत निकायको अध्ययन र सुझावका आधारमा सडक, आवास तथा बस्ती निर्माण गर्नुपर्नेमा सम्बन्धित निकायको ध्यान आकृष्ट गराइन्।

भूकम्प, महामारी जस्ता आकस्मिक तथा बाढी, पहिरो, डुबान र आगलागी जस्ता मौसमी प्रकृतिका विपत्तिको जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, मन्त्रालय र प्राधिकरणले गरेको पूर्वतयारी र उद्धार तथा राहतका लागि गरेका प्रयत्नको प्रशंसा गर्दै राष्ट्रपतिले हालैका दिनमा बाढी तथा पहिराबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।