एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) बारे गरेको ‘भ्रामक’ टिप्पणी भएको स्टाटस फेसबुकले हटाइदिएको छ। कोभिड-१९ मौसमी फ्लूभन्दा सामान्य र कम घातक भएको भन्ने पोस्टलाई फेसबुकले मंगलबार हटाइदिएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसको पुष्टि फेसबुकका प्रवक्ता एन्डी स्टोनले पुष्टि गरेका हुन्। उनका अनुसार कोभिड-१९ का नियम विपरीत उक्त पोस्टले गलत सूचना प्रवाह गरेका कारण हटाइएको हो। राष्ट्रपति ट्रम्प अहिले आफैँ कोरोना संक्रमित रहेका छन्। तैपनि उनले यसलाई गम्भीरतासाथ नलिएको टिप्पणी भइरहेको छ।
उनी शुक्रबार सैनिक अस्पताल भर्ना भएर सोमबार मात्र ह्वाइट हास फर्किएका थिए। यसअघि अगस्ट महिनामा पनि कोभिड-१९ बारे भ्रामक सूचना फैलाउने भन्दै ट्वीटरले उनको पोस्ट हटाएको थियो। त्यसबेला उनले फक्स न्यूजलाई अन्तरवार्ता दिएको भिडियो क्लिप ट्वीटरमा सेयर गरेका थिए।
कोरोनाबाट हाल अमेरिका सबभन्दा बढी आक्रान्त बनेको छ। अहिलेसम्म अमेरिकामा ७४ लाख ९९ हजार संक्रमित हुँदा २ लाख १० हजार ८७४ ले ज्यान गुमाइसकेका छन्।