ओली-प्रचण्डबीचको संवाद सकियो, के निस्कियो निष्कर्ष ?

Oli_Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दुई अध्यक्षबीच पार्टी एकतालाई पूर्णता दिने विषयमा सघन छलफल भएको बुझिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको आजको छलफलमा पार्टीको सांगठनिक एकीकरणका बाँकी काममा केन्द्रित रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। प्रेस संयोजक सापकोटाका अनुसार छलफल सकारात्मक भएको र अध्यक्षद्वयबीच समझदारी बन्नेबित्तिकै केन्द्रीय सचिवालय बैठक बस्नेछ।

आजको भेटमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए। असोज ६ गतेको बैठकले पार्टी एकताका बाँकी काम टुंग्याउने गरी १० दिनभित्र एकताका प्रस्ताव ल्याउने जिम्मेवारी दुई अध्यक्षसहित महासचिवलाई दिएको थियो। तर अहिलेसम्म प्रस्ताव तयार हुन सकेको छैन। नेकपामा जनसंगठनहरू, पाँच वटा निकाय, ३२ विभागसहित एक नीति प्रतिष्ठान, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ।

आजको भेटमा मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिको विषयमा पनि छलफल भएको थियो। यस विषयमा पनि ठोस निष्कर्ष ननिस्किएको नेकपा स्रोतको भनाई छ। तर नेकपाका एक नेताका अनुसार दुई अध्यक्षबीच आज भएको छलफलमा खाली रहेका मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने र बाँकी काम तिहारपछि गर्ने करिब सहमति जस्तो बनेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज करिब २ घण्टा ३० मिनेटसम्म छलफल चलेको थियो।