कोरोना संक्रमितले लोक सेवाको परीक्षा दिन नपाउने

लोकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ असोज। लोक सेवा आयोगको परीक्षामा कोभिड–१९ संक्रमित सहभागी हुन नपाउने भएका छन्। आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो।

सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएको परीक्षा सञ्चालनका लागि आग्रह गरेपछि आयोगले परीक्षा लिने तयारी गरेको छ। लोक सेवाले परीक्षामा सामेल हुन पुरुषका लागि उमेर हद ३५ र महिलाका लागि ४० वर्ष तोकेको छ।

संक्रमित वा संक्रमितको सम्पर्कमा आएका कतिपय व्यक्तिको उमेर हद पूरा हुने अवस्था पनि हुन सक्छ।गत वैशाखदेखि रोकिएको लोक सेवाको विज्ञापन तथा परीक्षा यसै महिना सुरु हुँदै छ।

असोजमा सहसचिव र उपसचिव, कात्तिकमा प्रशासनको शाखा अधिकृत, मसिंरमा प्राविधिकतर्फको शाखा अधिकृत र त्यसपछि क्रमशः नायव सुब्बा तथा खरिदारलगायत पदको विज्ञापन निकाल्ने जनाएको छ।

पहिलो चरणको परीक्षा सम्पन्न भएर परिणामसमेत आइसकेका विभिन्न तहको दोस्रो चरणको लिखित परीक्षासमेत आयोगले थाल्दै छ। आयोगले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै परीक्षा लिने स्पष्ट पारेको छ । त्यसका लागि एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी हुनेछन् ।

एक बेन्चमा एक जना मात्रै बस्ने गरी एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ। परीक्षा केन्द्रमा परीक्षार्थी तथा परीक्षामा खटिने जनशक्तिले अनिवार्य रूपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

आयोग अध्यक्ष उमेश मैनालीले विशेष स्वास्थ्य सुरक्षा अपनाएर परीक्षा सञ्चालनको तयारी गरिएको बताए । उनले विद्यार्थी स्वयंले आफूलाई संक्रमण भए–नभएको घोषणा गर्नुपर्ने बताए। वरिष्ठ अधिवक्ता हरि उप्रेती भने कोभिड–१९ संक्रमित भएकै कारण लोक सेवाको परीक्षाबाट युवा परीक्षाबाट वञ्चित हुने अवस्था आउनु राम्रो नभएको बताउँछन्। ‘यस्तै अवस्थामा परीक्षा लिइए धेरै युवा प्रतिस्पर्धाबाट वञ्चित हुनेछन्,’ उनले भने, ‘त्यो अपराधपूर्ण काम हुन जान्छ।’  कान्तिपुरमा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्