अध्यक्षको राजनीतिक प्रस्तावले सकारात्मक सुरुवात गरेको छ : वर्षमान पुन

Barsaman_pun
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावले नयाँ र सकारात्मक बहसको सुरुवात गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत नेता पुनले बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि, पद्धति र राजनीतिक संस्कारको विकास गर्न पनि नेताहरूमा अनुरोध गरे।

उनले पार्टीमा हुने छलफल, बहस र अन्तर्विरोधबाट आत्तिने र मात्तिने नेता कार्यकर्ता क्रान्तिकारी हुन नसक्ने पनि बताए। नेता पुनले कम्युनिस्ट पार्टी जमेको पोखरी जस्तो नभई निरन्तर तीव्र वेगको नदी जस्तो हुने पनि बताए। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहसको सुरुवात भएको छ। पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीव्र वेगको नदी जस्तो हो। पार्टीमा हुने छलफल, बहस, अन्तर्विरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवम् कार्यकर्ताको जिम्मेवारी हुन सक्दैन।

पार्टी एकताको रक्षाका लागि विधि, पद्धति र राजनीतिक संस्कारबाट बहसमा भाग लिन आग्रह पनि गरे। पुनले भनेका छन्, ‘पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात् गर्दै बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि,पद्धति र राजनीतिक संस्कारको विकास गर्न सबै नेताहरूमा हार्दिक अनुरोध गर्दछु।’