अपराध नियन्त्रणमा स्याङ्जा प्रहरीलाई ठूलो सफलता

लोकपाटी न्यूज

स्याङ्जा। जिल्ला प्रहरी स्याङ्जाले एकै दिन १ सय ११ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न घटनामा संलग्न रही फरार रहेका उनीहरुलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार ती सबैलाई बुधबारै जिल्ला अदालतमा हाजिर गराई सजाय भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको छ।

पक्राउ पर्नेमा १४ जना महिला र ९७ जना पुरुष छन्। एसपी बोगटीका अनुसार उनीहरु कर्तव्य ज्यान, हाडनाता करणी, लागूऔषध, सवारी ज्यान, चेक अनादर, अंशबन्डा, सम्बन्ध विच्छेद, कुटपिट र लुटपाट मुद्दामा संलग्न थिए। जिल्ला प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीको नेतृत्वमा स्याङ्जा प्रहरी अपराध नियन्त्रणमा सफलता हात पारिरहेको छ।

बोगटी नेपाल प्रहरीका अपरेशनमा काबिल अफिसरका रूपमा परिचित छन्। काठमाडौं प्रहरी परिसर तथा महानगरीय अपराध महाशाखामा रहँदा एसपी बोगटीले बैंक ह्याकर, बैंकिङ कसुर, चोरी डकैती तथा उपत्यकामा हुने गैरकानूनी क्रियाकलाप विरुद्ध सफल अपरेशन गरेका थिए। बोगटी नेतृत्वमा स्याङ्जा प्रहरीले बुधवार नियन्त्रणमा लिएकाहरूमा हाडनाता भित्र बलात्कार गरी भागेका लगायत १५ वर्षदेखि फरार देखि हत्या अपराध तथा चोरी डकैतीमा संलग्न फरार रहेका अभियुक्त छन्।

यसभन्दा अघि स्याङ्जा प्रहरीले एकै दिन ४८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो। ‘कोरोना महामारीका बेला फरार अभियुक्त पनि घरमा आउने भएकाले उनीहरूको खोजीमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ,’ बोगटीले भने, ‘एकै दिनमा यति ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गर्नु ठूलो सफलता हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्