अमेरिकामा आज राष्ट्रपति निर्वाचन : ट्रम्प र बाइडेनबिच प्रतिस्पर्धा

trump_biden_
लाेकपाटी न्यूज

काठमाडौं। अमेरिकामा मंगलबार राष्ट्रपति निर्वाचन हुँदैछ। निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन प्रतिस्पर्धामा छन्।

निर्वाचनको अन्तिम समय दुवै उम्मेद्वारले आफ्नो ध्यान निर्णायक मानिएका राज्यमा केन्द्रित गरेका छन्। प्रचारको अन्तिम दिन सोमबार राष्ट्रपति ट्रम्प नर्थ क्यारोलिना, पेन्सिल्भानिया र विस्कन्सिन पुगे। उता बाइडेनले भने पेन्सिल्भानिया र ओहियोमा प्रचार गरे।

अमेरिकामा अग्रिम मतदान गर्न पाइने व्यवस्था छ। अहिलेसम्म नौ करोड ९७ लाख मतदाताले मतदान गरिसकेका छन्। ताजा सर्वेक्षणहरुमा बाइडेन अगाडि देखिएको बीबीसीले उल्लेख गरेको छ। तर, उनी साँघुरो अग्रतामा रहेकाले धेरै इलेक्टोरल मत भएका राज्यले परिणाम बदल्न सक्ने उल्लेख गरिएको छ।

दुवै प्रतिष्पर्धीले चुनाव प्रचार प्रसारका क्रममा आफ्नो जित सुनिश्चित भएको दावी गर्दै आएका छन्।चुनावी नतिजा फेरबदल गर्नसक्ने एरिजोना, फ्लोरिडा, जर्जिया, आयोवा, पेन्सलभेनियालगायतका राज्यको मत निर्णायक हुने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्। एबिसी न्युजले २ दिनअघि गरेको गरेको मत सर्वेक्षणमा वाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने देखाएको थियो ।

मत सर्वेक्षणलाई मात्र हारजितको आधार भने मान्न सकिँदैन। अक्टोबर २९ देखि ३१ सम्म भएको मत सर्वेक्षणमा ५७ प्रतिशत मतदाताले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ट्रम्पको कार्यशैली नरुचाएको देखाएका थिए। अमेरिकामा प्रत्येक राज्यको मतदानको मतका आधारमा त्यहाँको इलेक्टर चयन हुन्छ, जसले अन्त्यमा राष्ट्रपतिचयन गर्छ। अमेरिकामा कूल ५ सय ३८ इलेक्टर चयन हुन्छन्।

तीमध्ये एक सय सिनेटर हुन्छन् भने चार सय ३५ जना प्रतिनिधि मानिन्छन्। बाँकी तीन जना इलेक्टर वासिङ्टन डीसीबाट चयन हुन्छन्। तीनै इलेक्टरले अमेरिकी राष्ट्रपति चयन गर्नेछन्। राष्ट्रपतिका लागि इलेक्टरले आगामी डिसेम्बर १४ तारिखसम्म मतदान गर्नेछन्। सो मतदानमा २ सय ७० मत ल्याउने उम्मेद्वार राष्ट्रपतिमा निर्वाचित हुने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्