आईपीएलको उपाधि मुम्बईलाई

rohit-sharma
लाेकपाटी न्यूज

दुबई। मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि जितेको छ। मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आइपिएल उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।

दिल्लीले प्रस्तुत गरेको १ सय ५७ रनको विजयी लक्ष्य मुम्बईले १९ औं ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै आइपिएलको पाँचौ उपाधि जित्न सफल भएको हो । पाँचै उपाधि मुम्बईले रोहित शर्माको कप्तानीमा जितेको हो । मुम्बईलाई सहज जित दिलाउन कप्तान रोहित शर्मा ५१ बलमा ५ चौका र ४ छक्का सहित ६८ रनको योगदान दिए।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । कप्तान श्रेयस ऐरले ५० बलमा ६ चौका र २ छक्का सहित ६५ रनमा अविजित रहेपनि उपाधिको लागि पर्याप्त भएन।

कोरोना महामारीका कारण मिति र स्थान परिवर्तन गर्दै १३औँ संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु भएको थियो। फाइनल सकिएसँगै आईपीएलको यो सिजन नाभेम्बर १० मा सकिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्