आजदेखि यमपञ्चक शुरु, शुक्रबार काग तिहार मनाइँदै

Kag-thihar
लाेकपाटी न्यूज

काठमाडौं, २७ कार्तिक। कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज (बिहीबार)देखि शुरु हुँदैछ। बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ।

यस वर्ष यमदीपदान बिहीवारदेखि शुरु हुने भए पनि काग तिहार शुक्रवार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि शुक्रवार नै परेको छ।

‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो’, उनले भने।
तिथिको घटबढका कारण यस्तो भएको समितिले जानकारी दिएको छ। यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।

शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ। अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताए।

गाई, गोरु र आत्म (म्हपूजा) कात्तिक ३० गते (आइतवार) गर्नुपर्ने शास्त्रीय वचन छ। आइतबार बिहान ११ः२७ बजेसम्म औँशी तिथि छ। त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ।

मंसिर १ गते (सोमवार) तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ। बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए। मंसिर १ गते सोमवार मह्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जानकारी दिएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुन्छ।

मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जानकारी दिएको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उनले बताए। यसै दिनदेखि नेपाल संवत ११४१ शुरु हुन्छ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि मंसिर १ गते नै गरिन्छ। मंसिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ।

नेवार समुदायका केही संस्थाले मंसिर २ गते भाइटीका मनाउने भनी गरेको निर्णय शास्त्रसम्मत नरहेको जनाउँदै नेवार समुदायका तीन जना पञ्चाङ्गकारले प्रकाशन गरेका तीन पात्रो (पञ्चाङ्ग)ले पनि मंसिर १ गते भाइटीका रहेको उल्लेख गरेका छन्।

सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशीले समितिको स्वीकृतिमा प्रकाशन गरेको पात्रोमा मंसिर १ गते भाइटीका मनाउनुपर्ने उल्लेख छ। यो समुदायका तीनै जना पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पात्रोमा उल्लेख गरेका छन्।

झिलीमिली उज्यालोको चाड तिहारका अवसरमा एक हप्ताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा थरिथरिका बत्ती बाल्न शुरु भइसकेको छ। बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ। केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन्। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्