आयल निगमको प्रादेशिक डिपोको शिलान्यास

लोकपाटी न्यूज

पोखरा, २७ कार्तिक। नेपाल आयल निगमले देशका सात वटै प्रदेशमा निर्माण गर्ने पेट्रोलियम पदार्थको प्रादेशिक भण्डारण केन्द्रको शिलान्यास गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आज प्रादेशिक भण्डारण केन्द्रको शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा मन्त्री भट्टले पेट्रोलियम पदार्थ देश समृद्धिसँग जोडिएको बताए। उनले देशको दोस्रो ठूलो डिपो पोखरालाई नमुना डिपोको रूपमा विकास गरिने बताए। ‘पेट्रोलियम पदार्थ देशको सुरक्षासँग जोडिएको छ, विकाससँग पनि जोडिएको छ। त्यसैले यो परियोजनालाई महत्त्व दिएका छौँ। निर्धारित समयमै परियोजना सम्पन्न गर्छौँ, ‘उनले भने, ‘पोखराको भण्डारण डिपो देशको दोस्रो ठूलो डिपो हो। यसले गण्डकी प्रदेशका साथै अरू प्रदेशको आपूर्तिमा पनि सघाउनेछौं। यसलाई हामीले नमुना डिपो बनाउँछौं।’

उनले नेपाल आयल नियमले सुरक्षाका निर्धारित मापदण्ड पुर्याएर आयोजना सम्पन्न गर्नेमा विश्वास व्यक्त गरे। ‘नेपाल आयल निगमसँगको पुँजी देशको सम्पत्ति हो। हामीले हाम्रै जग्गामा यो परियोजना बनाउँदैछौं। यसले देशको समृद्धिको यात्रामा महत्वपूर्ण योगदान गर्नेछ,’ उनले भने, ‘यो डिपो पूर्ण सुरक्षित र आधुनिक प्रकृतिको हुनेछ। हामीले सात वटै प्रदेशमा यस्ता भण्डारण गृह बनाउनेछौं।’

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा सरकारले दृढतापूर्वक काम गरिरहेको उनले बताए। मन्त्री भट्टले भनेका छन्, ‘हामी समृद्ध नेपाल, सुखी नेपालको लक्ष्यमा दृढतापूर्वक अघि बढिरहेका छौँ। देश सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा विकास र समृद्धिको दिशामा छौँ।’

उनले कोभिड-१९ को महामारीका बिच पनि आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरकार सफल भएको बताए।’हाम्रो मन्त्रालयले कोभिड-१९ को सङ्कटमा पनि आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाएका छौँ। हामीले आपूर्ति व्यवस्थालाई चुस्त बनाएका छौँ, यसमा हामी प्रतिबद्ध छौँ,’ उनले भने, ‘कोभिडको जोखिम बढे पनि हामीले आपूर्ति व्यवस्था प्रभावकारी बनाउन हामी सक्षम छौँ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्