आयल निगमले थाल्याे दैलेखमा पेट्रोलकाे सम्भाव्यता अध्ययन

dailekh22_Og0xopjrkC.
लाेकपाटी न्यूज

काठमाडौं। चिनियाँ प्राबिधिक टोली बहुप्रतिक्षित दैलेखको पेट्रोलियम खानीमा ड्रिल गर्न आउने भएको छ। पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेका अनुसार जनवरी महिनामा चिनियाँ प्राबिधिक टोली तथा उपकरण नेपाल आईपुग्ने र तत्कालै ड्रिलिङ आरम्भ गरिनेछ। जमिनको सतहबाट ४.५ किलोमिटर गहिरो ड्रिलिङ गरेर पेट्रोलियम पदार्थको मात्रा पत्ता लगाइनेछ।

‘जनवरीमा चिनियाँ प्राबिधिक टोली आउने अनौपचारिक खबर पाएका छौं, कुन ठाउँमा ड्रिल गर्ने भन्ने एकिन भैसकेको छ’, रजौरेले भने। अध्ययनका आधारमा एक ठाउँमा ड्रिल गर्ने निचोड निकालिएको छ। तीन देखि पाँच महिनाको अवधीमा ड्रिलिङको काम समाप्त हुनेछ। जमिनबाट ४.५ किलोमिटर तलसम्म ड्रिलिङ गरिनेछ।

यस अघि नै चिनियाँ प्राबिधिक र नेपाली टोलीले सेसिम सर्भे र म्याग्नेटोटेलोरिक सर्भेको काम सम्पन्न गरिसकेका छन्। दैलेखको खानी अन्वेषणमा चाईना जिओलोजिकल सर्भेका तर्फबाट प्रा.डा. टान फुयेनले नेतृत्व गरेका थिए भने नेपालका तर्फबाट रजौरे आफैं नेतृत्व गरिरहेका छन्। अन्वेषणका लागि चीन सरकारले २ अर्ब २५ करोड रुपैयाँ छुट्याएको थियो।

यो अन्वेषण योजनाका लागि २०७५ पुस २९ गतेको मन्त्रिपरिषद बैठकले ‘ईम्प्लिमेन्टेशन एग्रिमेन्ट अफ चाईना अन आयल एण्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट इन नेपाल’ स्वीकृत गरेको थियो। मन्त्रिपरिषदको सोही निर्णय अनुसार २०७५ फागुन १६ गते खानी तथा भुगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेबीच नेपालमा रहेका पेट्रोलियम खानीहरुको विस्तृत अध्ययन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

त्यस अघि पनि चाइना जिओलोजिकल सर्भेको टोलीले सन २०१६ को अप्रिल ३० मा नेपाल आएर सुर्खेत दैलेख, बुटवल पाल्पा र चतरा बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको संभाव्यता अध्ययन गरेको थियो। २०७४ साउन ३१ गते चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण तथा उत्खनन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो। सो अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले चिन भ्रमणका क्रममा जारी गरेको संयुक्त वक्तव्यमा पनि नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण गर्ने उल्लेख थियो।

पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको थियो। मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन २०७४ साल साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको थियो।

यस्तै, नेपालका १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन्। ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्