एकता कायम राख्न अध्यक्षद्वयले संयुक्त प्रस्ताव ल्याउनुस्ः महासचिव पौडेल

Bishnu_Paudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान नभए पनि केही मत्थर भने भएको छ। गत मङ्सिर ३ गतेको सचिवालय बैठकपछि नेताहरूको गुटगत भेला पातलिएको छ। विवाद समाधान गर्ने सूत्रको खोजीमा नेताहरूको दौडधुप भने जारी छ। दुई अध्यक्षबीच एक अर्कालाई गुटबन्दीको आरोप-प्रत्यारोप भएपछि नेताहरूले कार्यकर्तासँगको भेटघाट र छलफललाई पार्टी कार्यालयमा केन्द्रित गरेका छन्।

पार्टी एकताको रक्षा मुख्य सर्तमा संवाद केन्द्रित गरिएको छ। नेकपाका एक नेताका अनुसार अहिले शीर्ष नेताहरुबीच एक अर्काको मुड बुझ्ने काम भइरहेको छ। यहीबीच नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका दोस्रो तहका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्। उनले आज पार्टी कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग छुट्टाछुट्टै परामर्श गरे। प्रचण्डले आज पार्टीको पछिल्लो घटनाक्रमबारे नेताहरूसँग कुराकानी गरेका हुन्।

पौडेल र नेम्वाङसँगको छलफलपछि उनले पार्टीको अवस्था गम्भीर रहे पनि समाधानहीन भने नभएको बताएका छन्। पौडेल र नेम्वाङमार्फत प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र केही गम्भीर विवाद देखिए पनि एकताको अन्तिम डोरी चुँडियो भन्ने नठान्न आग्रह गरेका छन्। पार्टीमा उत्पन्न विवाद समाधानमा आफ्नो भूमिका सकारात्मक रहने उल्लेख गर्दै प्रचण्डले विवाद समाधानको बाटो केन्द्रित हुनुपर्नेमा जोड पनि दिए।

प्रचण्डसँगको भेटपछि नेम्वाङले भने पार्टी विवाद मिलाउन आफूहरू लागिरहेको बताएका थिए। कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्ताव राखेपछि नेकपामा तरंग पैदा भयो। ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रस्तावलाई आरोपत्रको संज्ञा दिएका छन्। उनले त्यसलाई स्वीकारेर जान नसक्ने भन्दै लिखित जवाफ दिने बताएका छन्। उनले जवाफका लागि समय माग गरेका थिए।

१३ गतेको सचिवालय बैठकमा ओलीले काउन्टर प्रस्ताव ल्याउन लागेका छन्। पार्टीका दुवै अध्यक्षले फरक-फरक प्रतिवेदन ल्याउन लागेपछि नेताहरूको दौडधुप बढेको छ। सोही क्रममा नेकपाका महासचिव विष्णु पौडेलले पार्टीका दुवै अध्यक्षले संयुक्त दस्ताबेज ल्याउन पर्नेमा जोड दिएका छन्। आज पार्टी मुख्यालय धुमबराईमा अध्यक्ष प्रचण्डसँगको भेटमा महासचिव पौडेलले अध्यक्षद्वयबाट आउने फरक फरक दस्तावेजले एकले अर्कालाई आरोपित गर्ने र अन्ततः पार्टी विभाजनको तहमा पुग्ने भएकोले प्रचण्डलाई सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिन आग्रह गरे।

प्रचण्डले प्रस्ताव फिर्ता लिएमा नेतृत्वबीच सहमति हुने उनले बताए। पौडेलले पार्टी एकता रक्षाका लागि दुई अध्यक्षले संवाद गरेर संयुक्त प्रतिवेदन ल्याउनुको विकल्प नरहेको बताएका छन्। ‘९९ प्रतिशत नेता कार्यकर्ताहरू पार्टी एकताको पक्षमा रहेका बेला एकल प्रतिवेदनले पार्टीलाई सही दिशातर्फ उन्मुख गराउँदैन। त्यस कारण तपाईंहरू दुवै अध्यक्ष छलफल गर्नुस् संयुक्त प्रतिवेदन ल्याउनुस् त्यही नै अहिलेको संकट निवारणको उपाय हो,’ प्रचण्डसँगको भेटमा महासचिव पौडेलले भने।

पौडेलले संयुक्त प्रस्ताव बन्न नसके पार्टी दुर्घटनातर्फ जान सक्ने खतरा पनि औँल्याएको नेकपा स्रोतको भनाई छ। ओलीले यसअघि नै उक्त प्रस्ताव फिर्ता गराउन पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गरेका थिए। तर, नेताहरूले उक्त प्रस्ताव प्रचण्डको मात्र नभएर आफूहरूको संयुक्त प्रस्ताव भएको बताएका थिए। उनीहरूले ओलीलाई कार्यशैली सच्याउन सुझाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्