एकाधिकार पूँजीवादको प्रभुत्व : कहाँ छौं हामी ?

Bisheswor Kattel
विश्वेश्वर कट्टेल

विश्वेश्वर कट्टेल/विकास मानवीय भावना हो। भावना पदार्थहरूबाट प्राप्त संयोजन कलाको उपज हो। पदार्थको परिवर्तनले विकास दर्शाउँछ र विकासले भावना परिवर्तन गर्दछ। भावना तरङ्ग हो। समुद्रमा चल्ने लहर हो। आकासमा मडारिने हावा हो। यसको कुनै निश्चित गति र दिशा हुँदैन। भावनालाई सत्यको मार्गमा हिँडाउन सके मात्र त्यसबाट मानवले सकारात्मक विकास र सिर्जना प्राप्त गर्न सक्छ।

भावनालाई वस्तुगत जीवनवोधका आधारमा बुझेर परिचालन गरिएन भने मानिसले सत्य र असत्य, आफ्नो हित र अहित छुट्याउन सक्दैन। भावना बहकिन्छ। मानिसभित्र भ्रमका कुञ्जीहरू पूँजी बनेर झङ्कारित हुन पुग्दछन्। विकासलाई व्यापार गर्नेहरूले यस्ता मानवीय कमजोरीको उपयोग गरेर मानिसलाई थाहै नदिई दिग्भ्रमित पार्न सफल छन्। विकासको नियमको सत्य पक्षालाई बङ्ग्याई जान्ने सुन्ने हुनेखाने टाठाबाठा भनिएका व्यक्तिले आफ्नो स्वार्थ र अभिमान पूरा गरेका छन्। यसरी मानिसले मानिसको भावना लुटेर आफ्नो फाइदाको व्यापार गरिरहेछन्।

विवशताको व्यापार

टाठाबाठा र मै हूँ भन्नेहरुले जे भने त्यसैलाई कानुन सम्झेर, धर्म सम्झेर वा देववाणी सम्झेर कुनै पनि हालतमा पूरा गर्ने। आफू जे–जस्तो हालतमा छ, त्यो त्यही हालतमा रमाउने जस्ता प्रवृत्ति र प्रकृतिले गर्दा सभ्यताको उषाकालदेखि नै मानव समाज समतामूलक ढङ्गले विकास हुन सकेन। समाज जहिले पनि विभेदमा बाँच्यो। अत्याचार नै आचार बन्न पुग्यो। र मानिस पिछडा बन्न बाध्य भयो। मानिसमा दानवीय प्रवृत्ति मौलायो र भावना भड्किन पुग्यो।

आदिम समाजदेखि नै गण–मालिक, गाउँ–गाउँ थुम–थुमा राजा, रजौटा र तिनका प्रतिनिधिले निरिह मानवीय भावनामाथि खेलबाड गरे। जति अत्याचार गर्दा पनि विरोध गर्ने आँट पलाएन। आँट पलाएर संघर्ष गर्नेहरूको परिवार र वंशसम्म नष्ट गर्ने कार्य भयो। यसरी समाजभित्र भित्रिएको अन्याय अत्याचारले मानिसले आफूलाई बिर्सेर आफ्नो क्षमता भुलेर एउटा अवाक् जीवन जिउन बाध्य हुनुपर्‍यो। मानिसले नै मानिसलाई पशुतुल्य बन्न विवश तुल्यायो र उसको विवशताको व्यपार गर्‍यो।

समाजको व्यापार

विश्व समाजले अतुलनीय विज्ञान र प्रविधिको विकास गर्‍यो। सम्यताको विकासक्रमसँगै जति विकास र प्रगति हात लागे पनि मानिसबिच हुने शोषणबाट समाज मुक्त हुन सकेको छैन। विश्व समाजको विकास क्रममा प्राकृत साम्यवादमा शुरू भएको सम्पति निजिकरणसँगै दास र मालिकको रूपमा विभाजित हुन पुग्यो। दास विद्रोहपछिको सामन्ती समाजमा त्यही वर्ग सामन्त, पूँजीपति र किसानबिच वर्गीय शोषणमा रूपान्तरण भयो।

सामन्ती समाज पूँजीवादी समाजमा रूपान्तरण हुँदै जाँदा मानव समाजले विकास र प्रगतिमा अतुलनीय फड्को मार्‍यो। जति विकास भए पनि शोषणबाट मुक्ति प्राप्त गर्नेभन्दा शोषणका रूप र प्रवृत्तिहरू झनझन् पेचिलो बन्दै गए। समाजमा साहु–महाजन र सर्वहारा, मजदुर, गरिब, विपन्न किसान र सुकुम्वासीबिचको वर्गीय शोषण जटिल हुन पुग्यो।

एउटा शोषितलाई नै म शोषणमा परको छु भन्ने थाहा नहुने सम्मको अवस्था बन्न पुग्यो । यो अज्ञानताका कारण कतिपय शोषणका तरिका वैधानिक बन्न पुगे भने पूँजीपतिले अकुत सम्पति थुपारेर केही व्यक्ति वा समूहसँग राष्ट्र किन्न सक्ने सम्पत्ति थुप्रिन पुग्यो र पूँजीको एकाधिकार बढ्न पुग्यो।

स्वार्थको मार्ग

पूँजीवादबाट समाजवादमा उकालो लागेको समाज, आज फेरि एकाधिकार पूँजीवादतर्फ धकेलिँदै गएको छ। निजी सम्पत्तिको मोह तीब्र छ। व्यक्तिगत जस लिनका लागि पूँजीवादीहरू समाजवादका नाममा मानव शोषण गर्ने माहिर व्यापारी बनेका छन्। समाजवादी चिन्तनभित्र पनि व्यक्तिपुजन संस्कृति प्रधान व्यापार बनेको छ। यसबाट मानिसले न्याय र सत्यको मार्ग भुल्न पुगेको छ। स्वार्थको मार्ग (देशको स्वार्थ, क्षेत्रगत, जातिगत, रङ्गगत, प्रदेशका आधार, जिल्ला गाउँ समाज र टोल हुदै परिवार र व्यक्ति स्वयं) अवलम्बन गर्न पुगेको छ। स्वार्थी भावना हरेक व्यक्तिको पुर्ख्यौली सम्पत्तिजस्तो बनेको छ।

शोषणको खुला बजार

विज्ञान र प्रविधिले मानिसमा सामूहिक भावको विकास हुने अवसर दिए पनि वस्तुगत तथ्य र सत्यवोधको अभावमा अवसरको निजीकरण यथावत छ। मानवभित्र स्वार्थ प्रवृत्ति मौलाएको छ। र, पूँजीवादी एकाधिकार प्रवृत्तिबाट मात्र होइन, यसैको व्यपार समाजवादको नामबाट पनि शुरू भएको छ। पूँजीको एकीकरण नै व्यक्तिवादको आधार र मूल्य हो। समाजवादी समाज भनिएका समाजमा पनि पूँजीपतिहरूका लागि सम्पत्तिको एकाधिकार, पेशागत हितका नाममा सिन्डिगेट, कार्टेलिङ, दलाली कमिशनखोरीजस्ता प्रवृत्ति मौलाउन र वैधानिक बन्न पाउनु समाजवादको नाममा गरिने शोषणको खुला बजार हो।

वित्तीय एकाधिकार, उत्पादनमा एकाधिकार, वितरणमा एकाधिकार साथै शिक्षा, स्वास्थ्यजस्ता विषयमा जमाउने एकाधिकार, जसको नामबाट भए पनि पूँजी हुनेहरूले नहुने वा कम पूँजी हुनेहरूलाई शोषण गरी थप पूँजी आर्जन गर्न र त्यसको संरक्षण गर्न गरिएको व्यापार हो। यी क्षेत्र भनेका शोषण गरेको सम्पत्ति लुकाउने र थप शोषणको रणनीति तयार गर्ने मैदान हुन्। पूँजीपतिहरूद्वारा मानिसले मानिसलाई शोषण गर्ने व्यापारिक श्रोत वा शोषणको खुला बजार हो।

मनको लड्डु

सम्पत्तिको राष्ट्रिय वा सहकारीकरणले सामूहिक भाव र सोचाइलाई वस्तुगत सत्यको आधारमा परिचालन गर्न नसकेसम्म समाजवाद मनको लड्डुसिवाय केही हुन सक्दैन। मात्र सानातिना सामुदायिक उपलब्धीलाई समाजवादको उपमा दिनु भनेको समाजवादको नाममा पूँजीवादले गर्ने व्यापारबाहेक केही होइन। किनकि, आजको पूँजीवाद समाजवादको नाममा एकाधिकारवादतर्फ द्रुत गतिमा अगाडि बढेको छ। विज्ञान र प्रविधि विकासका हरेक उपलब्धी पूँजीपतिहरूको हित र रक्षाका लागि मात्र प्रयोग गरिएका छन्।

जिब्रोको व्यापार

विश्व पूँजीवादले मानिसको जिब्रो लुटेको छ। दृष्य र मानसपटल लुटेको छ। चमकता र रौनकताको व्यापार फस्टाउने काम गरेको छ। उत्पादित चीजवस्तु चमकदार आकर्षक रूप र रङ्गले मानवीय प्रवृत्तिलाई लुट्न सफल छ। रङ्ग र स्वादको नाममा रासायनिक तत्वहरू मिसाएर जिब्रोमा मिठास भर्ने गरेको छ। स्वादभन्दा स्वास्थ्य निम्छरो बनेको छ। गाउँमा समेत तयारी चाउचाउ नै खाजाको मुख्य माग बनेको छ। अलिअलि चलेका मेलापातामा समेत चाउचाउकै माग बढी हुन्छ।

विद्यार्थीको टिफिन बक्समा पत्रु खानेकुराका पोका खोलेर पठाइन्छ। कतिपय विद्यालयमा त पोका पोका चाउचाउ नै चल्छ। खाजामा मकै, भटमास, बोडी, अचार, तरकारी, ढोसा, रोटी, सातुजस्ता जीवनपयोगी खानेकुराको परम्परा हटिसकेको छ। रसायनिक र नक्कली खानेकुराले मानिसको आयु र सम्पत्ति दुवै सकेको छ। जिब्रोको व्यापारले मानिसलाई रोगमाथि रोग, दुखमाथि दुख र गरिकीमाथि गरिबी थपेको छ।

नक्कली कि सक्कली

विश्व एकाधिकार पूँजीवादले मानिसको भावनामा यसरी लुटेको छ कि, गाउँमा तोरी फल्दैन। दियो बल्दैन। तेलको खाँचो पनि छैन, दियो नबाल्दा समस्या पनि छैन। हिजो लहलह धान झुल्ने खेत बाँझै छन्। तला भरी धानका भकारी हुने कुरा कथा बनिसके। तर गाउँमा चामलको अभाव छैन। अमेरिकाको रेस्टुराँमा बसेर पिउने रक्सी गाउँको भट्टी पसलमा छ। कहाँबाट कुन चीज आएको छ ? त्यो कति आवश्यक वस्तु हो ? सरकारलाई नै थाहा छैन। कति स्वस्थकर छ, नक्कली वस्तु हो वा सक्कली कसलाई थाहा ?

खानेकुरा बदलिए पनि शरीर त बदलिएको छैन। उही रगत मासु हाड छालाको शरीर हो। प्रकृति उही हो। हामी भावनामा यति भड्कियौं कि, आफ्नो हित र अहित छुट्याउनसम्म नसक्ने अवस्थामा पुगिसकेका छौं। गाई भैंसी पालेर दुध घिउ खानुभन्दा पाउडर दुध र डाल्डा किन्न सहज ठान्दछौं र आफू सभ्य भएको पहिचान दिलाउँछौं।

संस्कृति–संस्कारको व्यपार

संस्कृति–संस्कारलाई विश्व पूँजीवादी एकाधिकारवादले क्याप्चर गरेको छ। जनैपूर्णिमामा कुनै जातिले लगाउने धागो विश्व बजारबाट करोडौं मूल्यको आयत हुन्छ। भान्छामा प्रयोग हुने तेल, नुन, लसुन, प्याज, मसलादेखि लिएर लाउने कपडादेखि खाने चामलसमेत विश्व बजारबाट भित्रिन्छ। पूजा–आजाका लागि चल्ने वस्त्रदेखि लिएर धुप, बत्ती, अक्षता, फूल, चन्दनका साथै देवताका मूर्ति र चित्रहरू पनि विश्व बजारबाटै प्राप्त हुन्छ।

दशैं, तिहार, तीज, छट, इददेखि हरेक सास्कृतिक एवं धार्मिक कार्यमा प्रयोग हुने सामान विदेशबाट नै प्राप्त हुन्छ। यसरी एउटै पर्वमा हुने करोडौंको व्यापार यस्ता दर्जनौं पर्व मेला उत्सव साथै विवाहजस्ता क्रियाकलाप विश्व पूँजीवादी बजारले सजाएको हुन्छ। पुरेत पूँजीपतिहरूले जन्माउछन्। पुजाआजा र अन्य साँस्कृतिक कार्यमा चाहिने सामाग्रीहरू पूँजीपतिले उत्पादन गर्ने वस्तुका आधारमा आवश्यक र अनिवार्य ठानिन्छ। एउटा किसानलाई यो शोषण थाहा छैन। उसको विश्वास लुटिएको छ। र, विश्वासको व्यापार यसरी विश्वव्यापी भएको छ।

आवश्यकताभन्दा बढी धन दौलतको शान र प्रतिस्पर्धाका सामानहरू सजाएर अकुत सम्पत्ति लुटिरहेछ। त्यो रकम गरिब किसानका पसिना र रगत चुसेर कमाएका सम्पत्ति हुन्। विश्व एकाधिकार पूँजीवादका खुनी पञ्जा, सहजताका साथ गाउँबेंशी लेक कछाड हिमाल तराई सबै सबै स्थानमा पुगिरहेको छ।

लुटमा छुट

नेपालकै भर्खरै भएको एउटा उदाहरणलाई लिउँ। चालु आर्थिक वर्षमा विदेशबाट आयात गरिएको चक्लेटमा १५ प्रतिशत भन्सार छुट भयो। चक्लेट त विदेशमा मिति सकिएर सडेको भनेर डम्प गर्न लगेको फोहर उठाएर नेपालमा ल्याउने र त्यसलाई कम्पनीकै छाप भएको नयाँ कागजमा पुनः सिलबन्दी (पेपरमा रिप्याक) गरी नेपालका सुपरमार्केट लगायत गाउँ शहरका बजारमा सबै ठाउँमा पठाइँदो रहेछ।

प्रहरीले गोदामका गोदाम छापा मार्‍यो। मुद्दा चल्यो। कहाँ चल्यो ? कसरी चल्यो ? कसले दण्ड पायो ? यो लुटको छुटमा राज्य कहाँ र कसरी रह्यो ? उसले चक्लेटको गुणस्तर देखेन। बालकको स्वास्थ्य र भविष्य देखेन। महङ्गोमा विष किन्न कसले बाध्य पार्‍यो ?

कम्युनिस्टका नाममा वा समाजवादको खोल ओढेर विश्व पूँजीवाद कहाँसम्म पुगेको रहेछ ? यस मामिलामा सरकारले देख्यो त के भने, ‘महङ्गो भएको कारण चक्लेटको बिक्री कम भयो।’ व्यापारीलाई अझ नाफा कम भयो र, भन्सार छुट हुन पुग्यो। यसरी शोषणमा पनि संगठित गिरोहहरू छन्। उनीहरू नै विश्व एकाधिकार पूँजीवादका ठेकेदार बनेका छन्।

कसरी हुन्छ शोषण

खेतीको सिजन छ, एउटा किसान मल किन्न बजार जान्छ। बजारमसँगै हिडेका बाबुछोरीमा बाबुले आफ्नो नानीलाई एउटा सुन्दर गुडिया (खेलौना) किन्दिएको देख्छ। बच्चा त्यसमा खेलेको, उफ्रेको र खुसी भएको देखेर ऊ त्यसमा आफ्नो घरकी बच्चीको खुसी देख्छ। उसको मन त्यतै भड्किन्छ, बरू मल भोलि किनुँला, मेरी छोरी कति खुसी हुन्छिन् होला ? उ त्यही गुडिया किनेर फर्किन्छ।

घरमा आउँछ, गुडिया दिन्छ। बालक एकछिन खेल्छ। भोलि हुन्छ किसान पुनः ऋण थपेर मल किन्न जान्छ। बालक बाख्राका पाठापाठीसँग खेल्न रमाउँछ।

अनावश्यक सामानको कसैलाई महत्व पनि भएन। कसैले आवश्यकताको बोध पनि गरेन। केही दिनपछि गुडिया मैलो हुन्छ। उसकी आमाले यो मैलो चीज भन्छिन् र रछ्यानतिर फाल्छिन्। त्यो सामान किनेको ऋणको ब्याज भने बढिरहेको हुन्छ। यो समाजमा चलिरहने सामान्य उदाहरण हो। यस्ता हजारौं चीज वा वस्तुहरू मालसामान देखेर प्रभावित भई हामी पूँजी गुमाउन बाध्य हुन्छौं।

आधुनिक शोषण

कहिले बच्चाको हठले कहिले अभिभावकको हठले फजुल खर्च चम्कदो छ। यो पनि शोषणको आधुनिक रूप हो। मानिसलाई समयसँगै अरूसँग दाँजिन चाहने कमजोरीको व्यापार हो यो। सही चेतना समाजमा जगाउन सके यस्ता कमजोरीबाट विजय प्राप्त गर्न सकिन्छ। हामो पुरातन चिन्तनको न्युक्लियसमा रूग्ण पूँजीवादकै धङ्धङी छ। समाजमा एक अर्काबिच दाँजिने भन्ने कुरा पूँजीवादी समाजकै उत्पादन हो। हिजो लदाएर गरिबहरूको श्रम शोषण गर्दथे। आज लोभ्याएर, फुर्क्याएर, हौस्याएर, भ्रमको नालीबेली थुपारेर मानिसको रगत पसिनको शोषण गर्दछन्।

वैधानिक शोषण

खानेकुरामा होस्, लगाउने कुरामा होस् वा मनोरञ्जनका नाममा, अनावश्यक सुविधा, स्वाद र रङगका नाममा। रोमाञ्चक र झुट, असत्य विज्ञापनको नाममा मानिसले मानिसलाई वैधानिक रूपले शोषण गरिरहेछ। यसमा शोषक चिन्न सकिँदैन। पूँजीवादीहरूले शोषणका लागि भनेर नै यसको पद्धति निर्माण गरे। यसरी अरबौं अरब रकम गरिबबाट धनीतर्फ थुप्रिन पुगिरहेको छ। पूँजीपतिहरू आफूअनुकूल कानुन बनाई यसरी वैधानिक शोषण गरिरहेछन्।

रङ्ग र आकर्षक डिजाइन राखेर माल सामान सजाउने झुटा विज्ञापन गरेर विश्वास दिलाउने र बिपन्नताको मनोविज्ञान जानेर बुझेर भावनाको व्यापार गरी विश्व पूँजीवादीले दिनदहाडै शोषण गरिरहेछ। मानिस लुटिरहेछ, ठगिरहेछ। नेपालको आयातित वस्तुलाई हेर्दा उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने पूँजी आज फजुल खर्चमा असी प्रतिशतभन्दा बढी लगाएको पाइन्छ। असी प्रतिशत जनता ठगिँदा पनि कहीँ कतै कसैले विरोध गर्दैन। फजुल खर्च रोक्नुभन्दा बढाउने नीति जारी हुन्छ।

उठ्न र जुट्न जरूरी

भावनामा बेजोडको शक्ति हुन्छ। त्यही भावना संसार बदल्ने प्रतिवद्धता गर्दछ। त्यही भावना आफै जल्ने प्रतिवद्धता पनि गर्दछ। हाम्रा भावनाहरू विश्व एकाधिकार पूँजीवादीका शिकार बनेका छन्। हामीले पनि परिवर्तलाई बुझ्ने र त्यसलाई आत्मासाथ गर्ने कुरा प्रधान हो। परिवर्तनको मूल्यलाई उपलब्धिका आधारा हेरिनुपर्दछ। किनकि परिवर्तन वस्तुवादी विचार र व्यवहारले निर्देशित गरिएको हुनुपर्छ। त्यो गर्न सक्ने विचार भनेको समाजवादी अर्थात् मार्क्सवादी र लेनिनवादी विचार नै हो।

दास प्रवृत्ति यथावत

दास प्रथा हट्यो। तर, हामीभित्रको दास मनस्थिति हटेको छैन। हिजोका दासहरूले जसरी आफू मानव हुँ भन्ने नै बिर्सेका थिए। त्यसैगरी आजका मानिसले हामी माथि नृशंस शोषण भइरहेको थाहा पाएका छैनन्। थाहा पाए पनि यो शोषण हो भनेर बुझ्ने तागत राख्दैनन्। पूँजीवादीहरू शोषकका खप्पिस खेलाडी बनेका छन्। हामी उनीहरूका व्यापार कला नजानी नमानीकन पनि मनोरञ्जनका साधन र खेलमैदानको भकुण्डो बन्न बाध्य छौं।

नेपालकै उदाहरण दिउँ, नेपालबाट विदेश श्रम गर्न श्रमिक जान्छन्। महाजनका कम्पनीमा वर्षौं थुनिएर काम गर्दछन्। उनीहरूले उत्पादन गरेका सामान हाम्रै गाउँघरमा आइपुग्छन्। हामी आफ्नै परिवार सदस्यको श्रमबाट प्राप्त रकमले त्यही सामान किन्न बाध्य छौं। लालयित पनि छौं। श्रमिकले प्राप्त ज्याला उसको श्रम मूल्यभन्दा सयौं गुणा कम पाउँछ। त्यो पनि नेपाल आएर परिवारको हातबाट त्यही साहुको सामान किन्न खर्च हुन्छ। यसरी विश्व एकाधिकार पूँजीवादले आजको समाजलाई समग्र परिवेशबाट शोषण गरिरहेछ। हामी उनीहरूको दाशको रूपमा बाँच्न बाध्य बनेका छौं।

क्षमताको संकुचन

मानिस आज यति कमजोर बनेको छ कि उसको तत्कालिक भावनाका अगाडि उसका बुद्धि विवेक, निष्ठा, प्रतिष्ठा, नैतिकता, सिद्धान्त वा दर्शन सबै विलिन हुन पुग्छ। मन्दिर अगाडि उभिन्छ र अलौकिक शक्तिको कल्पना गर्दै दुई हात जोडेर बस्दछ। माथमा टीका र अक्षता लगाएर गर्व गर्दछ। ऋण खोज्छ। सत्यनारायणको कथा लगाउँछ। पुरूषोत्तम पुराण लगाउँछ। धन र प्रतिष्ठा पाएको अनुभूत गर्दछ। यसरी भावनाले मानिसको सत्यवोध गर्ने क्षमता कुण्ठित बनेर शोषणमा परेको छ।

लुटतन्त्र कायम

हिजोदेखि नै समाजका हुने खानेले गरीव किसान र मजदुरहरूको श्रम, पसिना र सम्पत्तिबाट आफ्नो जीवन सजाइरहे। नयाँ–नयाँ प्रविधिको उत्पादनसँग कमजोरीको व्यापार गर्ने कला पनि समावेश गरे। विज्ञान प्रविधि नै यति नशेदार तुल्याए कि समाजमा व्याप्त शोषण, अन्याय र अत्याचार हुँदा पनि त्यसको विरोध गर्ने आँट छैन। यसरी लुटतन्त्रको अगाडि समाज मृत–तुल्य बन्न विवश छ। यसविरूद्ध सामाजिक संघर्ष उठ्ने प्रयास गर्‍यो, जसले शुरूमा प्रयास गरे तर पछि तिनीहरू नै शोषक भएर निस्किए।

मानिसले टाढा सबैतिर देख्न सक्छ। तर नजिक आफैंभित्र भएको कमजोरी देख्न सक्दैन। किनकि, नजिक हेर्दा कुनै पनि चीज प्रिय देखिँदैन। त्यसको सत्यवोध हुन्छ। सत्य जहिले पनि पदार्थमा पाइन्छ। पदार्थलाई नजिकबाट हेर्नभन्दा टाढाबाट हेर्दा राम्रो देखिन्छ। त्यसैकारण नजिक अर्थात् सत्य देख्ने हिम्मत नभएसम्म मानिस कमजोरी र भ्रममै बाँचिरहेको हुन्छ। चाहे ऊ जति नै पद प्रतिष्ठा, ज्ञान, इज्ज्यत सम्मान प्राप्त गरेको होस्। यसबारे एकपटक सोचौं।

र अन्त्यमा,

मानव जीवनमा सबैभन्दा सजिलो नै भ्रमको व्यापार हो। भ्रमको व्यापार मुर्छाबाट शुरु हुन्छ। लगानी नै गर्न नपर्ने। खोजतलास ज्ञान विज्ञानले पनि नछुने। मूर्छित भ्रम। भ्रमको व्यापारले मानिसमा एकोहोरोपन पैदा गर्दछ। विवेकको अन्त्य गर्दछ। मानिस पसलमा बसोस् वा मन्दिरमा व्यापारमा कुनै फरक छैन। हिमालयमा बसोस् वा समुन्द्र तटमा, त्यसले कुनै फरक पर्दैन। मुर्छाको व्यापार भनेकै भ्रम हो।

भ्रमले मानिसलाई जहाँको तहीँ राखिरहन्छ। होस भ्रमको सकारात्मक पाटो हो। होसमा नै जीवन जाग्छ। मुर्छित भ्रम त नशासिवाय अरू केही होइन जति पियो, जति लियो, जति सेवन गर्‍यो, त्यति राम्रो लाग्ने। के किन केका लागि पिउँदै छु ? यसले राम्रो गरेको छ वा नराम्रो ? सोच्नै दिँदैन। सोच र भ्रम जो मुर्छित व्यापारका आरोह अवरोहको अवस्था हो। त्यसबाट जाग्ने कोसिस गर्नसके भोगले पनि मानिसलाई त्यागमा पुर्‍याउँछ। त्याग भनेकै शोषणबाट मुक्त हुनु हो। सबैले सबैका लागि त्याग गरौं। शोषणरहित समाज निर्माण गरौं, अस्तु !