ओलीको पत्र झुटको पुलिन्दा : प्रचण्ड

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा आफूले पेस गर्ने राजनीतिक प्रतिवेदनले पार्टी एकताका नयाँ आधार निर्माण गर्ने बताएका छन्। कार्यकारी अध्यक्ष प्रचण्डले उक्त प्रस्तावमा हुने बहस र छलफलले पार्टीलाई नयाँ आधारमा नयाँ कएकता कामयम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

ओलीलाई पठाएको पत्रमा उनले भनेका छन्, ‘म पत्रमा उठाइएका कतिपय विषयहरुमा संक्षिप्त टिप्पणी मात्र गर्न चाहन्छु। किनकी तपाईंले उठाएका कयौं विचार, राजनीति, संगठन र आचरण सम्बन्धी विषयबारे मैले सचिवालयमा अलग प्रस्ताव नै पेश गर्दैछु। सो प्रस्तावमा हुने बहस-छलफलले पार्टीलाई नयाँ आधारमा नयाँ एकता कायम गर्न मद्दत पुग्ने विश्वास पनि लिएको छु।’

प्रचण्डले आफ्नो पत्रमा प्रधानमन्त्री ओलीको पत्र झुटको पुलिन्दा भएको पनि उल्लेख गरेका छन्। ओलीको पत्रमा चिप्ला र गुलिया शब्दजाल मात्र रहेको उनले बताएका छन्। ‘समग्र पत्रको अध्ययन गर्दा र त्यसमा अभिव्यक्त मत, भावना र आशय हेर्दा मैले दुःखका साथ भन्नुपर्दछ कि यो चिप्ला र गुलिया शब्दजाल भित्र प्रस्तुत गरिएको झुटको पुलिन्दा हो। अनुभूतिको तहमा मैले यसलाई “विष कुम्भम् पयो मुखम्” का रुपमा महशुस गरेँ । पार्टी अध्यक्ष र प्रधानमन्त्री जस्तो गहन जिम्मेवारीमा रहेका तपाईं कमरेडबाट तथ्यहरुको यतिधेरै तोडमरोड र यति तल उत्रिएर झुटको खेती गर्न सक्नुहुँदो रहेछ भन्ने कुराले मलाई निकै आश्चर्य चकित र चिन्तित तुल्याएको छ,’ प्रचण्डले पत्रमा भनेका छन्।

मन्त्रीमण्डको पुनर्गठनको विषयमा प्रचण्डले भनेका छन्, ‘अब मन्त्रीमण्डलको व्यापक पुनर्गठन गरेर जाँदा राम्रो हुने मत राख्दै आएको छु। तर, त्यसो भनिरहँदा मैले सधैं नै तपाईंले आवश्यक ठानेका जिम्मेवार कमरेडहरुलाई भने निरन्तरता दिन उपयुक्त हुन्छ पनि भन्दै आएको छु। अझ तपाईंसँग धेरैपटक मुख्यरुपमा कमरेड ईश्वर पोख्रेल, कमरेड रामबहादुर थापा र कमरेड प्रदीप ज्ञवालीका हकमा निरन्तरता दिनु पर्दछ भन्दै आएको र कमरेड रामबहादुर थापाको हकमा तपाईंसँग गत सालदेखि नै उपप्रधानमन्त्री बनाउनु पर्दछ भन्ने विचार राख्दै आएको सन्दर्भमा तथ्यको र यति भयानक झुटको पर्दाले छोप्ने तपाईको नियतलाई अब मैले के बुझ्ने कमरेड ? अति गर्नु, अतिचार नगर्नु भन्छन् यो देख्दा त मलाई पनि भन्न मन लागेको छ, ‘एनअफ इज एनअफ’।’

प्रधानमन्त्री ओलीले नेताहरुका बीचमा समन्वय कायम गर्न पहल गर्नुको सट्टा एकअर्काका विरुद्ध जुधाउन र चलखेल गर्न खोजेको प्रचण्डको आरोप छ। अध्यक्षबीचको कार्यविभाजको सन्दर्भमा प्रचण्डले भनेका छन्, ‘तपाईंले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गर्दै आएको कुराले मलाई निकै ठूलो पीडा र अपमानबोध गराएको छ। पार्टी एकताको बेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकार समेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ। तर, मैले जति त्याग गर्‍यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो।’

प्रधण्डले आफ्नो प्रस्तावमा आफू पार्टी काममा केन्द्रित हुने र देशमा सरकार पुरै कार्यकाल तपाईं (प्रधानमन्त्री ओली)ले चलाउने निर्णय भएको दुई दिनमा ओलीले आफ्नो कार्यकारी हैसियतमाथि सार्वजनिक रुपमा चुनौति दिएको प्रसंग पनि उल्लेख गरेका छन्। ओलीले पूर्व माओवादिमाथि हमलाको अभियान चलाएको पनि आरोप लगाएका छन्, ‘केन्द्रीय समितिको दोस्रो बैठकको सफलतापछि त तपाईं र तपाईं निकटका कमरेडहरु भेला नै गरेर अब प्रचण्ड र पूर्व माओवादीमाथि हमलाको अभियान चलाउने निर्णय गर्नुभयो र देशव्यापी अभियान चलाउनु पनि भयो। त्यो प्रक्रियाका उत्कर्ष मेरो अध्यक्षका कुर्सी हटाएर अपमानित गर्ने स्तरसम्म उत्रिनुभयो। त्यतिबेला मेरो ‘गल्ती’ भनेको पार्टीभित्रका सबै प्रवृतिहरुलाई समेटेर बैठक सफल पार्नुथियो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्