ओलीको प्रस्तावको विपक्षमा किन उभिए ईश्वर र शंकर पोखरेल ?

लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधवार बसेको सचिवालय बैठकमा आफूमाथि लागेका आरोपको जवाफ दिन छुट्टै प्रतिवेदन ल्याउन समयको माग गरेका छन्। ओलीले आफ्नो अलग्गै प्रतिवेदनका लागि १० दिनको समय दिन बैठकमा प्रस्ताव गरे।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पेस भएको राजनीतिक प्रस्तावमा आफूमाथि लाञ्छनायुक्त र आरोपले भरिएको पत्र भएको उनले बताएका थिए। ओलीले उक्त आरोपहरूको एक एक जवाफ दिन छुट्टै प्रतिवेदन ल्याउने सचिवालय बैठकमा प्रस्ताव गरेका थिए। त्यसको लागि उनले केही समय लाग्ने बताएका थिए।

ओलीले समय माग गरेपछि कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्तावमा एकमत जनाएका बहुमत सचिवालय सदस्यहरू समय उपलब्ध गराउन सहमत भएका थिए। जवाफ दिन प्रतिवेदन पेस गर्ने उद्देश्यसहित ओलीले समयको माग गरेपछि उनी निकट केही नेताहरू भने त्यसको विपक्षमा प्रतिक्रिया दिन थालेका छन्। सामाजिक सञ्जालमार्फत नेकपाका नेताहरू ईश्वर पोखरेल र शङ्कर पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनको जवाफ दिन आवश्यक नरहेको आशय सहित प्रतिक्रिया दिएका छन्।

‘आफूमाथि लगाइएका ‘तथ्यहीन, आधारहीन, पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्‍याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू’लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले, सचिवालयको बैठकमा। त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ, उहाँले। यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउन सहज र सम्भव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ।’ उपप्रधानमन्त्री समेत रहेका नेता ईश्वर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो गम्भीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं!’

यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका नेता शंकर पोखरेलले लेखेका छन्, ‘पार्टी एकताको भावना विपरीत आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई बैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ। पार्टी एकताले पूर्णता नपाउँदै समानान्तर दस्ताबेज बाटो एकतातर्फको बाटो अवश्य होइन। १० दिनको समयलाई एउटै दस्ताबेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरू गम्भीर बन्नुहोस्। अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्नेछ।’

गत कार्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले नेकपाभित्रका सबै समस्याको कारण केपी शर्मा ओली भएको निष्कर्षसहितको १९ पेज लामो प्रतिवेदन सचिवालय बैठकमा पेस गरेका थिए। उक्त प्रतिवेदनमा पार्टीभित्र भएका गतिविधि र पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण उत्पन्न विषयहरूलाई प्रस्तुत गरिएको छ। प्रतिवेदनमा पार्टी एकता देखि यताका घटनाक्रमलाई लिपिबद्ध गरिएको छ। प्रतिवेदनले ओलीको कार्यशैलीमाथि असन्तुष्टि जनाएको छ।

सोही प्रतिवेदनले आफूमाथि आरोप लगाएको ठहर गर्दै ओलीले जवाफमा छुट्टै प्रतिवेदन ल्याउने प्रस्ताव गरेका थिए। ओलीको प्रतिवेदनपछि दुवै प्रतिवेदनमाथि छलफल हुने नेकपाले जनाएको छ। तर ओलीको उक्त प्रस्तावको विपक्षमा उनी निकट नेताहरू देखिएका छन्। प्रचण्डको राजनीतिक प्रतिवेदनको खण्डन गर्न सक्ने कुनै सैद्धान्तिक र प्रमाणिक तथ्य नभएको कारण ओलीलाई प्रतिवेदन लेखनबाट रोक्ने प्रपञ्च रचन थालिएको ओली इतर समूहका एक नेताको भनाई छ।

प्रचण्डको प्रतिवेदनमाथि ओली पक्षीय नेताहरूसँग खण्डन गर्न सक्ने ठाउँ नरहेको ती नेताको भनाई छ। प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा हालसम्म भएका घटनाहरूको वास्तविक तथ्यहरूलाई प्रस्तुत गरिएको उनको भनाई छ। वास्तविक तथ्यहरूमा खण्डन गर्ने ठाउँ नभएपछि अनेक प्रपञ्च रचने खेलमा ओली निकट नेताहरू लाग्न सक्ने ती नेताले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्