ओलीको सन्देश बोकेर खुमलटार पुगे विष्णु पौडेल

bishnu-paudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको सन्देश लिएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। नेकपा सचिवालय बहुमत सदस्यले दिएको पत्रमा तोक लगाउँदै ओलीले महासचिव पौडेललाई दूतको रुपमा खुमलटार पठाएका हुन्।

बहुमत सदस्यको पत्रमा तोक लगाउँदै ओलीले विधानअनुसार तयारी गर्न भनेका छन्। कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ गते सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीलाई लिखित पत्र बुझाएका थिए। उनीहरुले दुई दिनभित्र सचिवालय बैठक बोलाउन अल्टिमेटम दिएका थिए।

प्रचण्डले आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागिमात्र अध्यक्ष ओलीलाई लिखित पत्र दिएको जानकारी बताएका छन्। उनले विधानको प्रावधान यो प्रसंगमा आकर्षित नहुने पनि बताए। बहुमत सचिवालय सदस्यले माग गरेअनुसार प्रधानमन्त्री ओलीले चाँडै सचिवालय बैठक बोलाउनु पर्ने पनि प्रचण्डले बताए।

प्रधानमन्त्री ओलीले मंगलबारसम्म पनि बैठक नबोलाए प्रचण्डले नै सचिवालय बैठक बोलाउने तयारी प्रचण्ड-नेपाल पक्षले गरेका छन्। उक्त सचिवालय बैठकले स्थायी समिति बैठक डाक्ने निर्णय गर्नेछ। ‘त्यसपछि जे निर्णय गर्ने हो स्थायी समितिले नै गर्नेछ,’ नेकपाका एक स्थायी समिति सदस्यले भने। पार्टीमा अल्पमत रहेका ओलीले पछिल्लो समय लगातार आन्तरिक समीकरण फेरबदलको कोसिस जारी राखेका छन्। यही विवादका बीच ओलीले नेपालसँग तीन पटक भेट गरिसकेका छन्।

नेपाललाई फकाउन दोस्रो तहका नेताहरुसमेत परिचान गरेका ओलीले आफ्ना दूत मार्फत प्रदीप नेपाललाई नेपाल फकाइदिन अनुरोधसमेत पठाएका थिए। आइतबार दिउसो पनि ओलीले वरिष्ठ नेता नेपाल स्थायी कमिटी सदस्यहरु भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डेसहित बालुवाटार बोलाएका थिए। उक्त भेटमा ओलीले पार्टी संकटमा रहेकोले जोगाउन नेता नेपालसँग आग्रह गरेका थिए। नेता नेपालले सोहिक्रममा पार्टी जोगाउनका लागि प्रधानमन्त्रीका तर्फबाट प्रस्ताव के छन् राख्न आग्रह गरेका थिए।

सोही भेटमा नेता नेपालले भनेका थिए, ‘एकता जोगाउने तपाईको जिम्मेवारी हो। जोगाउनुस्।’ स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएको लगायत विषयमा नेकपाका पाँच सचिवालय सदस्य प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट छन्। नेता नेपालले लगातार पार्टीलाई विधि र पद्धतिमा चलाउन माग गर्दै आएका छन्। यसअघि पनि प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए।