ओलीलाई नेपालले भनेः ‘पार्टी एकता तपाईमा निर्भर छ’

KP_Oli_Madhav_Nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्री ओलीले नेपालसहित उनी पक्षीय केही नेताहरुलाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए।

यसअघि पनि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा बोलाएर सहमतिमै अलग अलग पार्टी बनाएर जाउँ भन्ने प्रस्ताव राखेका थिए। आइतबार दिउसो बालुवाटारबाट निम्तो आए पछि वरिष्ठ नेता नेपाल स्थायी कमिटी सदस्यहरु भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डेसहित बालुवाटार पुगेका हुन्।

झन्डै सवा तीन घण्टासम्म चलेको वार्तामा पार्टी विवाद समाधान गर्नेबारे कुनै ठोस निष्कर्ष आउन नसकेको नेताहरूले बताएका छन्। प्रधानमन्त्री ओलीले नेता नेपालसँग पार्टीभित्रको समस्या पहिलेको भन्दा जटिल रहेको बताएका थिए। ओलीले पार्टी संकटमा रहेकोले जोगाउन नेता नेपालसँग आग्रह गरेका छन्। उक्त भेटमा वरिष्ठ नेता नेपालले पार्टी जोगाउनका लागि प्रधानमन्त्रीका तर्फबाट प्रस्ताव के छन् राख्न आग्रह गरेका थिए।

‘भेटमा नेता नेपालले पार्टीमा देखिएको संकट हटाउन तपाईंका तर्फबाट प्रस्ताव के छ ? ल्याउनुस् भन्नुभएको थिए। तर, प्रधानमन्त्रीले ठोस प्रस्ताव भने राख्नु भएन,’ छलफलमा सहभागी नेता सुरेन्द्र पाण्डेले भने, ‘हामीले एकता जोगाउने तपाईको जिम्मेवारी हो। जोगाउनुस् भन्यौं।’

नेता नेपालले केन्द्रीय सचिवालयको बैठक बोलाउन ओलीलाई सुझाव दिएको नेता पाण्डेले जानकारी दिए। उनले आफूहरुले प्राविधिकभन्दा पनि ठोस प्रस्ताव ल्याउन आग्रह गरेको बताएका थिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विवाद चुलिएका बेला ओलीले अध्यक्ष प्रचण्डलाई अलग्याउने रणनीति अनुरुप माधव नेपालसहित उनको टिमलाई बालुवाटार बोलाइएका हुन्।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित नेता नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकका लागि लिखित पत्र बुझाएको भोलिपल्ट ओलीले नेपाल समूहका नेतासँग बालुवाटारमा छलफल गरेका छन्। स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएको लगायत विषयमा नेकपाका पाँच सचिवालय सदस्य प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट छन्।

पछिल्लो समय ओलीले नेता नेपाललाई आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेका छन्। यही विवादका बीच ओलीले नेपालसँग तीन पटक भेट गरिसकेका छन्। नेपाललाई फकाउन दोस्रो तहका नेताहरुसमेत परिचान गरेका ओलीले आफ्ना दूत मार्फत प्रदीप नेपाललाई नेपाल फकाइदिन अनुरोधसमेत पठाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्