ओलीलाई प्रचण्डको जवाफः मेरो त्यागले तपाईंको अपमान सहनुपर्‍यो (पूर्णपाठसहित)

Oli_Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पत्रको जवाफ फर्काएका छन्। ओलीले प्रचण्डलाई १० पृष्ठ लामो पत्र लेखेपछि त्यसको तीनदिनपछि शुक्रबार प्रचण्डले ओलीलाई ७ पृष्ठको पत्र लेखेका हुन्।

दुई अध्यक्षबीच कार्यविभाजनको सन्दर्भमा ओलीले जहिले पनि हलो अड्काएर गोरु चुट्ने नीति अख्तियार गरेको प्रचण्डले पत्रमार्फत भनेका छन्। ‘पार्टी एकताको बेला समान हैसियता, अध्यक्षता र आलोपालो सरकारसमेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छाड्दै गएँ। तर, मैले जति त्याग गर्‍यो, तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो,’ प्रचण्डले भनेका छन्।

त्यस्तै प्रचण्डले ओलीको पत्रलाई झुटको पुलिन्दा भनेका छन्। समग्र पत्रको अध्ययन गर्दा र त्यसमा अभिव्यक्त मत, भावना र आश हेर्दा त्यस्तो लाग्ने प्रचण्डको भनाइ छ। ‘अनुभूतिको तहमा मैले यसलाई ‘विष कुम्भम् पयो मुखम्’का रूपमा महसुस गरेँ । पार्टी अध्यक्ष र प्रधानमन्त्रीजस्तो गहन जिम्मेवारीमा रहेका तपाईं कमरेडबाट तथ्यहरूको यतिधेरै तोडमरोड र यति तल उत्रिएर झुटको खेती गर्न सक्नुहुँदो रहेछ भन्ने कुराले मलाई निकै आश्चर्यचकित र चिन्तित तुल्याएको छ। हजारौं तर्कभन्दा एउटा तथ्य शक्तिशाली हुन्छ कमरेड,’ प्रचण्डले पत्रमा लेखेका छन् ।

ओलीले पत्रमा नेतृत्व परिवर्तन र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आदर्शका कुराहरू पत्रमा लेखेकाप्रति पनि प्रचण्डले व्यङ्ग्य गरेका छन्। ओलीको व्यवहार त्यसभन्दा भिन्न रहेको उनको दृष्टिकोण छ। ‘व्यवहारमा भने यदि कसैले आफूलाई पदबाट हटाउन खोजेमा त्यो सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीको बहुमतले भने पनि आफूले नमान्ने कुरा खुलारूपमा गरिरहनुभएको छ। विघटन भइसकेको पार्टीको महाधिवेशनले छानेको अध्यक्ष हुनाले मलाई कसैले हटाउन सक्दैन भन्ने अनौठो तर्क गर्नुहुन्छ। पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजे कुर्सी नै भाँचिदिने चर्चा आइरहन्छ, यो के हो कमरेड ?,’ प्रचण्डले प्रश्न गरेका छन्।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्