ओलीलाई भेट्न नेकपाका पाँच शीर्ष नेता बालुवाटारमा

Nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका सदस्यहरु बालुवाटार पुगेका छन्। पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई सचिवालय बैठकका लागि मनाउन लिखित पत्रसहित भेट्न बालुवाटार पुगेका हुन्।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी अनौपचारिक बैठकपछि उनीहरु बालुवाटार पुगेको नेकपाका एक नेताले जानकारी दिए। शुक्रबार पनि पार्टी कार्यालयमा यिनै सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक भएको थियो।

कार्यकारी अध्यक्ष प्रचण्डले शुक्रबार र शनिबार डाकेको सचिवालयको अनौपचारिक बैठकमा अध्यक्ष ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी थिएनन्। पार्टी र सरकार संचालनलाई लिएर केही महिना यता पार्टीका दुई अध्यक्षबीच किचलो चल्दै आएको छ।

पार्टीमा जारी अन्तरविरोधका बारेमा यसअघि पार्टीका दुबै अध्यक्षबीच बिहीबार छलफल भएको थियो। सो छलफलमा दुबैले एकअर्कालाई असहयोग गरेको आरोप लगाएका थिए। अध्यक्ष ओलीले बहुमतले पार्टी कमिटीको बैठक राखे पार्टी विभाजन हुने चेतावनी दिएपछि नेकपा सचिवालयका पाँचजना (बहुमत) नेताहरू केही हच्चिए पनि आज अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरू पुन: धुम्बाराहीमा भेला भएका थिए।

आजको बैठकले पनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सहमतिमा सचिवालय बैठक डाक्न आग्रह गर्ने निर्णय गरेको छ। पार्टीमा विवाद बढ्दै गएका बेला आज ओली केन्द्रीय सचिवालय बैठक बोलाउन सहमत नगराएमा प्रचण्ड आफैले औपचारिक बैठक डाक्ने तयारी गरेका छन्। नेकपा विवाद उत्कर्षमा पुगेका बेला कमिटी बैठकमा नै छलफल गर्नुपर्ने नेताहरुको मागप्रति ओलीले चासो देखाएका छैनन्।