ओलीले भनेका थिए : ‘स्थायी समिति सदस्य हुल्लडबाज, केन्द्रीय सदस्य सडकछाप हुन्, काम छैन’

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय कमिटीलाई हुल्लडबाज र सडकछापको संज्ञा दिएको नेकपाका पाँच शीर्ष नेताको आरोप छ। पार्टीमा उत्पन्न विवाद समाधानका लागि पार्टी बैठक बोलाउन अनुरोध गर्दा ओलीले पार्टी केन्द्रीय कमिटीलाई हुल्लडबाज र सडकछापको संज्ञा दिएका थिए।

‘जेजे भन्नु पर्ने हो ती सबै सचिवालयको बैठकमै छलफल गरेर टुंगो लगाऔं भन्दा सचिवालय तपाईँको गुट हो, स्थायी कमिटी हुल्लडबाज कमिटी हो र केन्द्रीय कमिटी सडकछाप कमिटी हो, यिनीहरूको बैठकको के आवश्यकता भन्दै पार्टीका यी सर्वोच्च निकायलाई अपमान गर्न थाल्नु भयो। त्यति मात्र होइन यी सबै कमिटीमा तपाईँको बहुमत छ, मैले यी कमिटीहरूको बहुमतलाई मान्दै मान्दैन पनि भन्नु भयो,’सचिवालय बैठक बोलाउन शीर्ष पाँच नेताले ओलीलाई बुझाएको अनुरोध पत्रमा उल्लेख छ।

पार्टीमा उत्पन्न समस्या समाधानका लागि छलफल चलाउन अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतले बैठक बोलाउँछु भन्दा ओलीले पार्टी फुट्यो भनेर आफूले लिने प्रतिक्रिया दिएको उल्लेख छ। ओलीले कार्यकारी अध्यक्षको हैसियत नमान्ने भावको अभिव्यक्ति दिएको पनि उक्त अनुरोध पत्रमा उल्लेख छ। तत्पश्चात् कार्यकारी अध्यक्षको तर्फबाट कार्तिक २१ गते पार्टी कार्यालय धुम्वाराहीमा सचिवालयको अनौपचारिक बोलाइएको बताइएको छ।

यद्यपि पाँच शीर्ष नेताहरूले पार्टीमा उत्पन्न विवाद समाधानका लागि पार्टी केन्द्रीय निकायको बैठक आवश्यकता औँल्याएका छन्। ‘राष्ट्र तथा जनताको हित, पार्टी तथा आन्दोलनको आवश्यकता ,आम कार्यकर्ता तथा शुभेच्छुकको चाहाना र जनादेशलाई केन्द्रमा राख्दै पार्टीको विधि, पद्धति र निर्णय लाई सबैले पालना एवं कार्यान्वयन गर्ने गरी पार्टी एकताको रक्षा गर्नु र जनताले अहिले भोगिरहेको सङ्कट तथा कष्टको समाधान गर्नु आजको अपरिहार्य आवश्यकता हो। त्यसको लागि तत्काल सचिवालयको र त्यसपछि आवश्यकता अनुसार अन्य केन्द्रीय निकायहरूको बैठक बस्नु अनिवार्य भएको छ,’ अनुरोध पत्रमा भनिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्