‘ओली तानाशाह र दलाल नोकरशाही पुँजीवादका प्रतिनिधि भएर उभिए’

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नव उदारवादी पूँजीवादलाई पच्छ्याइरहेको बताएका छन्। ओलीको व्यवहार समाजवाद उन्मुख नभएर दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने खालको रहेको प्रचण्डको टिप्पणी छ।

राजनीतिक प्रतिवेदनमा उनले भनेका छन्, ‘उहाँले न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनैतिक, संस्कृति नीति बारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नु भएको छ। व्यवहारतः उहाँले दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनु भएको छ।’

पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवादलाई मानेर विगत कार्यदिशाको मूल्याङ्कन गरिएको तथा दुवै कार्यदिशाको सारतत्वलाई ग्रहण गर्ने र समाजवाद उन्मुख जनताको जनवाद भनिएको तथ्य स्पष्ट भए पनि ओली त्यसमा सहमत नदेखिएको प्रचण्डको भनाई छ। ओली कहिल्यै पनि उपरोक्त मूल्याङ्कन र राजनैतिक संश्लेषणप्रति व्यवहारमा सहमत नदेखिनु पार्टी एकताको मर्म विपरीत भएको उनले बताए।

पार्टी एकतालाई नयाँ उचाइमा पुर्‍याउन नयाँ विचार र नीतिको विकास गर्ने भन्दा पनि आफ्नो गुटलाई पुरानो रूप र मान्यतामा सक्रिय गराउन ओलीले प्रयत्न गरेको प्रचण्डको आरोप छ। उनले भनेका छन्, ‘पार्टीका अन्य सबै नेताहरू जेष्ठ ३ गतेको मदन–आश्रित स्मृति दिवस, फाल्गुण २१ गतेको सुखानीका सहिदहरुको स्मृति दिवस, फागुन १ गतेको जनयुद्धका सहिदहरुको स्मृति दिवसमा सहभागी बनेर पार्टी एकताको मर्म र भावनालाई सम्मान गर्दछन् तर कमरेड केपी ओली भने कहिल्यै पनि फाल्गुण १ गतेको कार्यक्रममा सहभागी बन्न समेत तयार हुनुभएन।’

प्रचण्डले अगाडि भनेका छन्, ‘उपरोक्त तथ्यहरूले स्पष्ट गर्दछन् कि कमरेड केपी ओलीले पार्टी एकताको वैचारिक-राजनैतिक आधार र भावनालाई आत्मसात् नगरेको मात्र होइन बरु त्यसका विरुद्ध आफ्ना क्रियाकलापहरू बढाइरहनु भएको छ। राजनैतिक प्रतिवेदनमाथिको उहाँको स्वीकारोक्ति केवल सत्ता प्राप्ति र गुट स्वार्थ पुरा गर्ने हतियारका रूपमा मात्र प्रयोग गरेको देखिएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्