ओली-प्रचण्डबीच आज १ घण्टा छलफल, के निस्कियो निष्कर्ष ?

Oli_Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच करिब १ घण्टा छलफल भएको हो।

नेकपा भित्र ‘विभाजनको बहस’ चलिरहेको बेला दुई अध्यक्षबीच छलफल भएको हो। पार्टीभित्र विवाद बढ्दै गएपछि अध्यक्षद्वयबीच पछिल्लो समय भेटघाट पातलिएको छ। प्रचण्ड पाँच दिनपछि कार्यकारी अध्यक्ष प्रचण्डले संवादका लागि आज बालुवाटार पुगेका हुन्।

प्रचण्डले पार्टीका बैठक बोलाएर समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै आएका छन्। तर ओलीले पार्टी बैठक बोलाउन सहमत छैनन्। सचिवालय बैठकको साटो दुवै अध्यक्षबीच सहमति गर्नुपर्ने धारणा ओलीले राख्दै आएका छन् । ओली-प्रचण्डबीच आज कुन कुन विषयमा संवाद भयो भन्ने विषय सार्वजनिक भएको छैन। यसअघि गत शनिबार ओली-प्रचण्डबीच तिक्ततापूर्ण संवाद भएको थियो।

नेकपा स्थायी कमिटीको गत २६ भदौको निर्णय कार्यान्वयन हुन नसक्दा नेकपाभित्र विवाद झन उत्कर्षमा पुगेको छ। यसअघिको संवादमा अध्यक्ष ओलीले पार्टी विभाजन गर्नुपर्ने प्रस्ताव गरेको कुरा प्रचण्डले आफूनिकटका नेताहरूसँगको छलफलमा बताएका थिए। अघिल्लो सचिवालय बैठकमा भएको सहमतिविपरीत प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि विवाद झन् चर्किएको थियो।

यही विवादबीच नेकपा कर्णालीको संसदीय दलमा अध्यक्ष ओली समर्थक सांसदहरूले पूर्वमाओवादी समूहका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि दुवै अध्यक्षबीच फरक मत देखा परेको थियो। उक्त प्रकरणपछि दुवै नेताबीच सार्थक संवाद हुन सकेको छैन। बुधबार मात्रै अध्यक्ष ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताउँदै कठोर कदम चाल्नसक्ने संकेत गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्