ओली र नेपालबीच बालुवाटारमा छलफल जारी

KP_Oli_Madhav_Nepal
  • 108
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधाममन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। नेकपा सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले संवादका वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएका हुन्।

यसअघि पनि प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए। तर, नेपालले लगातार पार्टीलाई विधि र पद्धतिमा चलाउन माग गर्दै आएका छन्। आज पनि नेता नेपालले प्रधानमन्त्री ओलीसँग छलफल गर्न आफूनिकट मानिने नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई साथमा लिएर गएको बुझिएको छ। सचिवालय सदस्यहरूबाट आएको मागपछि उत्पन्न परिस्थितिमा अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षका नेता भेटेका हुन्।

आइतबार प्रधानमन्त्री ओलीले छलफलका लागि वरिष्ठ नेता नेपाललाई बोलाएको नेकपाका एक नेताले जानकारी दिए। उनीहरुका बीच नेकपामा बढेको ध्रुविकरण र आन्तरिक द्धन्द व्यवस्थापनका बारेमा छलफल भइरहेको बुझिएको छ। नेकपाभित्र विवाद चुलिएका बेला पार्टीभित्र अल्पमत रहेका ओलीले लगातार आन्तरिक समीकरण फेरबदलको कोसिस जारी राखेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालसँग विवाद बढेपछि ओलीले आन्तरिक छलफललाई तिव्रता दिएका छन्। पार्टीभित्र आफूमाथि दबाब बढ्दा ओलीले वरिष्ठ नेताहरुसँग छुट्टाछुट्टै पनि भेट गर्दै आएका छन्।

शनिबार बालुवाटार पुगेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा देखिएको विवाद समाधान गर्न तत्काल सचिवालयको बैठक बोलाउन अध्यक्ष ओलीलाई लिखित अनुरोध गरेका थिए। उनीहरूले पार्टीभित्र देखिएका समस्या र तत्कालीन राजनीतिक परिस्थितिबारे निर्क्योलमा पुग्न बैठक अपरिहार्य रहेको निष्कर्षसहित लिखित अनुरोध गरेका थिए। तर ओलीले भने कुनै निष्कर्ष दिएका थिनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्